काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी उनी रिहा हुने भएका हुन्।

त्यसअघि लामिछानेलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदैछ। जिल्ला अदालतमै उपस्थित गराएर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रूपन्देही ल्याउन लागिएको उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मञ्जुर हुने कागज गराएर रिहा गराउन आदेश दिएको थियो।

यही बुँदाअनुसार लामिछानेको भागमा परेको बिगो वापतको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत गर्नुपर्ने भएपछि रुपन्देही लैजान लागिएको हो।

 जनहितमा जारी

उनी आफैँ रुपन्देही जिल्ला अदालातमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन पाएनन्। सबै कागजी प्रक्रिया पूरा गरेपछि आजे छाडिनेछ ।

चैत २५ गते उच्च अदालतकै आदेशमा लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका थिए । गत साउन ३१ गते लामिछानेलाई नख्खु सारिएको थियो।