नेपाल प्रहरी,  भरत प्रसाई

जब–जब देशमा आन्दोलन चर्किन्छ, तब–तब शान्ति र सुरक्षाको पहिलो पंक्तिमा उभिने अनुहारहरू हुन्छन्—नेपाल प्रहरी। भीडको अगाडि ढाल बनेर उभिँदा उनीहरू केवल ‘सरकारी शक्ति’ होइनन्, उनीहरू पनि यही माटोका छोरा हुन्, यही समाजका दाजुभाइ, छोरा, पति र बाबु हुन् भन्ने कुरा अक्सर बिर्सिन्छौँ।

हरेक आन्दोलनको तारो किन नेपाल प्रहरी बन्छ ,यो प्रश्न आज समाजकै सामु उभिएको छ।

द्वन्द्व, हिंसा र आक्रोशका हरेक कालखण्डमा नेपाल प्रहरीले भोगेको पीडा सामान्य छैन। लाठी, ढुंगा, पेट्रोल बम र गालीको सामना गर्दै उनीहरू “सत्य, सेवा र सुरक्षा” भन्ने मूल मन्त्र बोकेर सडकमा उभिएका हुन्छन्। चाहे त्यो दशैं–तिहार होस्, छोराछोरीको जन्मदिन होस् वा आमाबुवाको बिरामी अवस्था—कर्तव्यले सबै भावना पछि पारिदिन्छ।

2

भोक, पानी, तिर्खा र थकानलाई बेवास्ता गर्दै प्रहरी जनताको सुरक्षामा खटिएको हुन्छ। तर एउटा गम्भीर प्रश्न उब्जिन्छ—

आन्दोलन हुँदा क्षति कसको हुन्छ ,प्रहरी घाइते हुँदा, ज्यान गुमाउँदा, सार्वजनिक सम्पत्ति तोडफोड हुँदा, सडक, पुल र संरचना ध्वस्त हुँदा—अन्ततः त्यो क्षति त यही देशको, यही जनताको होइन र 

आज शान्तिप्रिय नेपाल आक्रोश, अविश्वास र टकरावको भुमरीमा अल्झिएको देखिन्छ। राजनीतिक स्वार्थका गोटी चालिँदा भिडमा उत्रिने जनता र अगाडि खडा प्रहरी—दुवै पीडित छन्। फरक यति हो, प्रहरीको पीडा बोल्न पाउँदैन, किनकि उसले आदेश पालना गर्नुपर्छ।

भौतिक संरचना अभाव, सवारी साधनको कमी, सीमित सेवा सुविधा—यी सबै कठिनाइबीच पनि प्रहरीले नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै आएको छ। तर स्रोतसाधनविहीन सुरक्षा व्यवस्थाबाट जनताले कस्तो सुरक्षा पाउनेरु यो गम्भीर आत्ममन्थनको विषय बनेको छ।

Capture 9

हिजो एक जना प्रहरी देखिँदा डर लाग्थ्यो, तर त्यही डरभित्र एउटा भरोसा पनि लुकेको हुन्थ्यो—“आज राति सुरक्षित सुत्न पाइन्छ।” आज भने व्यवस्थागत कमजोरी, राजनीतिक हस्तक्षेप र सामाजिक मानसिकताका कारण प्रहरी–नागरिक सम्बन्ध खण्डित हुँदै गएको अनुभूति हुन्छ।

नेपाल प्रहरी मानव हुन्। उनीहरूमा पनि कमजोरी हुन सक्छन्। तर उनीहरू सरकारको निर्देशन पालना गर्न बाध्य हुन्छन् भन्ने यथार्थ बुझ्न जरुरी छ। गल्ती व्यक्तिको हुन सक्छ, संस्थाको होइन—तर दण्ड र आलोचना सधैं संस्थामाथि नै खनिन्छ।

नागरिकको सुरक्षामा अग्रपंक्तिको नेतृत्व लिने नेपाल प्रहरी सार्वजनिक सुरक्षा स्थापना गर्न, घटित घटनाको सूक्ष्म अध्ययन गरी निष्कर्षमा पुग्न सक्षम छ। तर त्यसका लागि आवश्यक छ—जनताको साथ र विश्वास।

राजनीतिक परिवर्तन भए, चेतनामा परिवर्तन आयो, विकासका नारा फेरिए—तर प्रहरीप्रतिको व्यवहार फेरिन सकेन। यही विडम्बना हो।

आज आवश्यकता छ प्रहरीलाई शत्रु होइन, आफ्नै समाजको अभिन्न अंगका रूपमा हेर्ने दृष्टिकोणको।

किनकि—प्रहरी पनि जनताकै छोरा हुन्।