झापा, बुद्धशान्ति–पवन ढकाल (खुदुनाबारी)

पुस २६ गतेको त्यो बिहान अरू दिनझैँ सामान्य थियो। घरमा खाना पाक्यो, परिवारसँगै रमेश खनालले खाना खाए। छुट्टीको दिन भएकाले उनी घरघुरेनमै रहेको मकैबारीतिर लागे—दैनिक जीवनको सामान्य काम, मकै छाट्ने जिम्मेवारी पूरा गर्न।

तर त्यो बिहान उनको जीवनकै सबैभन्दा भयावह क्षण बन्न गयो।

मकैबारीमै उनकी श्रीमती विषादी स्प्रे लिएर पुगिसकेकी थिइन्। अचानक शान्त वातावरण चिर्दै “मारो–मारो” भन्ने चिच्याहट गुञ्जियो। मकैबारीको भित्र लुकेर बसेको ठूलो चितुवाले एक्कासि रमेश खनालमाथि आक्रमण गर्‍यो। एकछिनमै मकैबारी रणभूमि बन्यो—मानिस र जंगली जनावरबीच ज्यान जोगाउने संघर्ष।

केही क्षणको घम्साघम्सीपछि चितुवाले रमेशलाई रगताम्य अवस्थामा छाडेर जंगलतिर भाग्यो। श्रीमतीले हातमा रहेको स्प्रे फ्याँक्दै श्रीमानलाई सम्हालिन्, रोइकराई गर्दै गाउँभरि हारगुहार गरिन्। उनको चिच्याहटले गाउँ ब्युँझियो। केही बेरमै गाउँलेहरू घटनास्थलमा भेला भए।

घाइते रमेशलाई अस्पताल पुर्‍याइयो। उनको रगतले लतपतिएको शरीर, अनुहारमा देखिएको पीडा र आँखामा भरिएको डर—त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो। धेरैका लागि त्यो एउटा समाचार मात्र थियो, तर रमेशको परिवारका लागि त्यो जिन्दगीभर नसकिने घाउ बनिसकेको थियो।


घटनापछि हाम्रो टोलीले रमेश खनाललाई भेट्दा उनी चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेका थिए। शारीरिक घाउहरू क्रमशः निको हुँदैछन्, तर मनभित्रको डर अझै मरेको छैन।

एक निजी कम्पनीमा काम गरेर परिवार पाल्दै आएका रमेशको काँधमा ठूलो जिम्मेवारी छ। घरमा १०० वर्षीया हजुरआमा छन्, वृद्ध आमाबुवा छन्, श्रीमती र दुई साना छोराछोरी छन्—सबैको भविष्य उनको कमाइ र स्वास्थ्यसँग जोडिएको छ।

रमेश भन्छन्, “म बाँचेँ, त्यो मेरो भाग्य हो। तर त्यो दिन सम्झँदा अझै राती निद्रा लाग्दैन। म मात्र होइन, मेरो परिवार पनि त्रासमा बाँचिरहेको छ।”

घटनाकी प्रत्यक्षदर्शी उनकी श्रीमतीका लागि त्यो दृश्य जीवनकै सबैभन्दा डर लाग्दो स्मृति बनेको छ।

“दिनदहाडै, घरकै मकैबारीमा यस्तो हुन्छ भनेर कहिल्यै सोचेकी थिइनँ,” उनी भन्छिन्, “अहिले खेतबारीतिर जाँदा पनि हातखुट्टा काँप्छ।”

यो घटना केवल रमेश खनालको परिवारमा सीमित छैन। खुदुनाबारीका बासिन्दा अहिले दिनदिनै डरका साथ बाँचिरहेका छन्। बालबालिका बाहिर खेल्न डराउँछन्, महिलाहरू एक्लै खेतबारी जान हिच्किचाउँछन्।

एक स्थानीय छिमेकी भन्छिन्, “अब सम्बन्धित निकायले तुरुन्त चासो नदिने हो भने हामी यहाँ बस्नै सक्दैनौँ। चितुवाको खोजी र व्यवस्थापन नगरे अर्को घटना कसको घरमा हुन्छ, थाहा छैन।”

डिभिजन वन कार्यालय तथा स्थानीय निकायले सहयोग गर्ने आश्वासन दिएको बताइए पनि पीडित परिवार र स्थानीय बासिन्दा तत्काल र प्रभावकारी कदमको प्रतीक्षामा छन्। उनीहरू भन्छन्—आश्वासनभन्दा बढी अब सुरक्षा चाहिएको छ।

पुस २६ गतेको त्यो बिहान रमेश खनालको ज्यान त जोगियो, तर खुदुनाबारीका बासिन्दाको मनमा बसिसकेको डर हटाउन अब राज्य र स्थानीय सरकारको जिम्मेवारी सुरु हुन्छ।