पवन ढकाल | बुद्धशान्ति
झापा । किराँती समुदायको मौलिक धर्म, दर्शन, संस्कार र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले किराँतीहरूको बृहत एकदिने मुन्दुमी प्रशिक्षण कार्यक्रम झापाको बुद्धशान्ति गाउँपालिका–४, मङ्गलबारे पुछारस्थित किरात राई यायोक्खा भवनमा भव्य रूपमा सम्पन्न भएको छ।
किरात मुन्दुम अध्ययन केन्द्र, बुद्धशान्तिको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता अध्ययन केन्द्रका अध्यक्ष गणेश बा राइ ले गर्नु भएको थियो किरात मुन्दुम अध्ययन केन्द्र का केन्द्रिय अध्यक्ष एवं मुन्दुम बिद बरिस्ठ गायक एबम सङ्गितकार जितेन राई प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो।
कार्यक्रमको उद्घाटन तिनचुलोमा प्रमुख तथा विशिष्ट अतिथिहरूबाट संयुक्त रूपमा दीप प्रज्वलन गरी गरिएको थियो। उद्घाटन सत्रपछि सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा विशिष्ट अतिथि किरात राईहरूको मुन्दुम( सुप्तुलुङ) विधामा विद्यावारिधि गर्नुभएकी डा. शान्तिदेवी राईले किराँतीहरूको मुन्दुम, सुम्तुलुङ, जीवन दर्शन तथा किरात राई समुदायका संस्कार–संस्कृतिबारे विस्तृत र गहन प्रशिक्षण दिनुभयो।

त्यसैगरी प्रमुख अतिथि जितेन राईले किरात सभ्यता, दर्शन, पहिचान र समकालीन सन्दर्भमा मौलिक संस्कृतिको महत्वबारे प्रशिक्षण दिँदै, भावी पुस्तामा संस्कृतिको हस्तान्तरण आजको अपरिहार्य आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा किरात राई यायोक्खा झापा जिल्ला अध्यक्ष रमेश राई, नीर बा राई, युवराज राई, खड्ग बा राई, नरबहादुर राई लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा किरात राई यायोख्खा वडा नं. ४ का अध्यक्ष राजेन्द्र कु. राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने किरात राई यायोक्खाका पदम बा राईले शुभकामना मन्तव्य राख्नुभएको थियो।
२०७५ सालमा स्थापना भएको किरात मुन्दुम अध्ययन केन्द्र हाल पूर्वी नेपालका मोरङ, सुनसरी, इलाम, झापा लगायत जिल्लामा किरात राई समुदायको साझा अध्ययन केन्द्रका रूपमा स्थापित हुँदै आएको छ। केन्द्रले विभिन्न स्थानीय तहमा मुन्दुमी प्रशिक्षण, संस्कार–संस्कृति संरक्षण तथा पहिचान प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी आयोजकले दिएको छ।

कार्यक्रमको सञ्चालन मुन्दुम अध्ययन केन्द्र बुद्धशान्तिका सचिव गङ्गाराम राईले गर्नुभएको थियो। कार्यक्रममा गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक मनुकुमार राई, एरा एभर अंग्रेजी स्कुलका आदर्श राई, गोपाल राई, लाल बा राई लगायत बुद्धशान्ति क्षेत्रभरिका २००बढी किरात राई बन्धुहरूको उल्लेख्य सहभागिता रहेको थियो।














