गिताराम आचार्य,
निर्वाचन लोकतान्त्रिक प्रणालीको अनिवार्य र सुन्दर पक्ष हो। निर्वाचनबाट प्राप्त जनमतलाई आत्मसात गर्न सके मात्र लोकतान्त्रिक प्रणाली मजबुत हुन्छ। जेनजी आन्दोलनपछि भएको यो निर्वाचनको परिणामले पुराना राजनीतिक दललाई गम्भीर समीक्षा गर्ने ठाउँमा पुर्याएको छ। नेपालका पूर्वमन्त्री तथा प्रधानमन्त्रीसमेत सामान्य उम्मेदवारसँग आकाश–पातालको अन्तरले पराजित हुनु सामान्य कुरा होइन, लाजमर्दो कुरा हो।
लामो समय राजनीतिक केन्द्रमा रहेर जनताका समस्या नबुझ्नु, नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिनु, राजनीतिक विचार र सिद्धान्तभन्दा बाहिरी शक्तिबाट परिचालित हुनु, राष्ट्रियताका खोक्रा कुरा मात्र गर्नु, राष्ट्रहितविपरीतका अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अवलम्बन गर्नु आदि कारणले पुराना राजनीतिक दल आज यो अवस्थामा पुगेका हुन्।
संसदीय व्यवस्थामा राजनीतिक दलको ठूलो भूमिका रहन्छ। अतः यी राजनीतिक दल फेरि लडे पनि त्यहीँबाट उठ्नै पर्छ।
तपाईंहरू सिक्नुहोस्—जनताका काम गर्न सांसद नै हुनु पर्दैन। हिजो रवि लामिछाने, महावीर पुन लगायतले जसरी काम गरे, त्यसैको प्रतिफल आज प्राप्त गरेका होलान्।
जनताले तपाईंहरूलाई यसपटक संसद बाहिरबाट सेवा गर्ने म्यान्डेट दिएका छन्, यसलाई स्वीकार गर्नुहोस्। थाहा पाउनु भयो होला—आकाशमा थुकेको छिटा आफ्नै मुखमा पर्दोरहेछ। हिजो तपाईंहरूले विपक्षीका लागि बोलेका भाषा कति तल्लो स्तरका थिए, अब फुर्सद छ, रेकर्ड हेर्नुहोला। संसद भवनमा चलेको तपाईंहरूको लोकदोहोरी तमाम नेपाली जनताले देखेका थिए।
लिखित दस्तावेज पढ्न नजान्ने र शुद्ध बोल्न नआउने सांसद पनि त्यही संसद भवनमा थिए। सचेत नेपाली जनता त्यही हेरेर विकल्पको खोजीमा थिए। आज त्यही वैकल्पिक शक्ति मूलधारमा परिणत भएको छ। जनताको शक्ति कति हुन्छ भन्ने कुरा तपाईंहरूले बुझ्नै पर्छ।
पुराना राजनीतिक दलले अरूलाई निषेध गरेर राजनीति गर्ने सिद्धान्त अपनाए। कुनै सरकारले काम गर्न खोजे त्यसलाई आरोप र प्रति–आरोप लगाउने संस्कार विकास गरे।
हिजो प्रचण्डले भुटानी शरणार्थी काण्ड लगायतका फाइल खोल्न नखोजेको होइन, तर कसरी गठबन्धन गरेर हटाइयो र हलाउनै नसक्ने सरकार बनाइयो, र संस्थागत रूपमा खुलेआम भ्रष्टाचार संरक्षण गरियो—यो सबैले देखेका छन्।
तपाईंहरूले आफ्नो भ्रष्टाचार लुकाउन जस्तोसुकै गठबन्धन गर्न पछि पर्नु भएन। तर सुशासन र भ्रष्टाचार नियन्त्रणमा कुनै राष्ट्रिय सहमति निर्माण गर्न सक्नुभयो?
यसको विरुद्ध बोल्नेलाई अनेक झुटा काण्ड र वाणरूपी शब्दले घोचिरहनु भयो। जनतालाई भ्रममा राख्न खोज्नुभयो। त्यसकै परिणाम आज लज्जास्पद हार व्यहोर्नु पर्यो।
अरू कुरा सामान्य मानौँ, भदौ २३ गतेको आन्दोलनको माग बुझेर तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएको भए २४ गतेको घटना घट्ने थिएन। ल, त्यो पनि ठीक, तर तत्कालीन प्रधानमन्त्रीको हैसियतले नैतिक जिम्मेवारी लिनुपर्ने होइन ?
यी सबै कारणले नेपाली जनताले परिवर्तनको खोजी गरे र राजनीतिक धार नै परिवर्तन गर्न सफल भए। यो नेपाली जनताको अभूतपूर्व सफलता हो।
अब सुधार गरौँ राजनीतिक संस्कार। विश्व परिवेश बुझौँ। नेल्सन मन्डेला दक्षिण अफ्रिकाको प्रथम राष्ट्रपति हुँदा श्वेत जातिलाई आममाफी दिएर आफ्नो सरकारमा समावेश गरेको इतिहास छ। तर हाम्रो राजनीतिमा कहाँ छ त्यो उदारता? हामी त एकले अर्कालाई खुइल्याउने राजनीतिक संस्कारमा हुर्केका छौँ।
एकले अर्काको अस्तित्व स्वीकार्न सक्दैनौँ, अनि कसरी राजनीतिक संस्कार पुस्तान्तरण हुन्छ?
नयाँ पुस्तामा विस्तारै राजनीतिक संस्कार विकास भएको मान्नुपर्छ। हाल विजेताले विजयजुलुस ननिकाल्नु, विगतमा जस्तो कटु वचनले सामाजिक सञ्जाल नभर्नु विवेकपूर्ण मान्नुपर्छ।
पुराना राजनीतिक दलले अब यो संस्कार सिक्दै नयाँ शक्तिलाई काम गर्न दिनुपर्छ। विरोधका लागि विरोध गर्ने संस्कार छोडौँ। राम्रो कुरामा जुनसुकै हालतमा साथ दिऔँ, गलत कार्यको विरोध गरौँ। पार्टीका कसैलाई पनि देवत्वकरण नगरौँ। विद्रोह र फेरि क्रान्तिको धम्की बन्द गरौँ।
सार्वजनिक हुन लागेको जेनजी आन्दोलनको प्रतिवेदन पूर्वाग्रह रहित रहेछ भने स्वीकार गरौँ।
नयाँ उदाउँदै गरेको शक्तिले पनि राजनीतिक प्रतिशोधको भावना नराखोस्। राजनीति सहकार्यबाट नै पुराना भ्रष्टाचारका मुद्दालाई किनारा लगाउने कार्य गरौँ।
अब नयाँलाई काम नगर्ने छुट छैन। शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा देखिने काम नेपाली जनताले खोजेका छन्। राजनीतिक अस्थिरतालाई सधैँका लागि अन्त्य गरौँ।
नयाँ शक्तिलाई मत दिने पुरानै राजनीतिक दलका कार्यकर्ता हुन्, यो नभुल्नु होला। विकल्पको खोजीमा जनताले तपाईंहरूको परीक्षा लिएका छन्। यसमा असफल हुने छुट छैन।
राजनीतिक संस्कारको विकास गर्दै राष्ट्रको मुहार फेर्ने अवसरको सदुपयोग होस्। नयाँ बन्ने सरकारलाई अग्रिम बधाई।














