बुद्धशान्ति, झापा — बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति–झापाले आफ्नो पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रम प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्व तथा नेपाल पत्रकार महासंघ झापा शाखाका सह–सचिव तिलक तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सभाको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि तामाङले पछिल्लो समय सरकारले मिडिया क्षेत्रमा लिएको नीतिप्रति चिन्ता व्यक्त गरे। सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्नुपर्ने निर्णयले निजी तथा स्थानीय मिडियामा असर परेको उल्लेख गर्दै उनले उक्त निर्णय पुनर्विचार गर्नुपर्ने धारणा राखे। साथै स्थानीय सञ्चारमाध्यमको दिगोपनका लागि स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए। उनले नेपाल पत्रकार महासंघले आगामी दिनमा स्थानीय प्रेस क्लबहरूसँग सहकार्य गर्दै आवश्यक तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि गराए।

कार्यक्रममा अध्यक्ष तिम्सिनाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरू सार्वजनिक गरे। उनका अनुसार आगामी आर्थिक वर्षमा बुद्धशान्तिका सबै पत्रकारहरूको दुर्घटना बीमा गर्ने, अक्षयकोष स्थापना गर्ने, कार्यसम्पादनका आधारमा वार्षिक पत्रकारिता पुरस्कार प्रदान गर्ने तथा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, उद्घोषण र व्यक्तित्व विकास कार्यक्रम सञ्चालन गरिनेछ।त्यस्तै, संस्थाकी कोषाध्यक्ष भारती राईले आर्थिक वर्ष २०८१/०८२ को आयव्यय विवरण प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्था सार्वजनिक गरिन्।

सभामा इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज चन्द्र राउत, बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, बुधबारे जेसीजका अध्यक्ष कुशल अधिकारी, टिमाई सशस्त्र बेस क्याम्पका सुरेन्द्र दनुवार, बुद्धशान्ति रेडक्रसका सभापति पुष्पराज भट्टराई, आदर्श युवा क्लबका सचिव दुर्योधन सिंह राजपुत, संस्थाका सल्लाहकार भुवन सिंह तामाङ, गंगाराम गड्तौला, निवर्तमान अध्यक्ष आयुस निरौला, संस्थापक सचिव दिपेन लावती, पर्यटन पत्रकार मञ्च झापाका कोषाध्यक्ष प्रकाश बानियाँ तथा अर्जुनधारा प्रेस क्लबका सदस्य बिष्णु श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो।कार्यक्रमको सञ्चालन संस्थाका सचिव रोशन भट्टराईले गर्नुभएको थियो।
स्थानीय पत्रकारिता सुदृढीकरण र पेशागत विकासमा केन्द्रित यस सभा उपलब्धिमूलक भएको आयोजकले जनाएको छ।














