२४ वैशाख, बुटवल । रुपन्देहीका भूमिहीन/अव्यवस्थित बसोबासी अगुवाहरूले डोजर आतंक बन्द नगरे देशभर सशक्त प्रतिरोध गर्ने  चेतावनी दिएका छन् ।

नेपाल भूमिहीन तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले बिहीबार बुटवलमा गरेको प्रदर्शनपछि भएको सभामा उनीहरूले बिना विकल्प बस्तीहरू खाली गर्ने कार्य तत्काल रोक्न माग गरे ।

सभामा बोल्दै संघर्ष समितिका सल्लाहकार एवं नेकपा माओवादी रुपन्देही सचिव वीरेन्द्र विकले सुशासन र लालपुर्जा पाउने आशामा मतदान गरेका नागरिकले अहिले डोजर आतंक भोग्नुपरेको गुनासो गरे । उनले डोजर आतंक बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए ।

‘वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकका बस्तीलाई अवैध भन्दै उठिबास लगाउन खोजिए सशक्त प्रतिरोध हुनेछ,’ उनले प्रश्न गरे, ‘भूमिहीन र अव्यवस्थित बसोबासीको मत र कर वैध, तिनै नागरिक बसेको जमिन कसरी अवैध हुन्छ ?’

विकले आफूहरू बसेको जमिन अवैध हो भने बालेन सरकार पनि अवैध हुने भन्दै बुटवलबाट सरकारविरुद्ध प्रतिरोधको आँधी ल्याउने चेतावनी दिए ।

‘बुटवल अंग्रेज फौजलाई हराएको ऐतिहासिक ठाउँ हो । डोजर आतंक नरोके यहाँबाटै सरकारको दिनगन्ती सुरु हुनेछ,’ विकले चेतावनी दिए, ‘रुपन्देहीमा मात्र ७९ हजार २६१ जना सुकुमवासी र अव्यवस्थित बसोबासी छन् । उनीहरूको कुनै पनि बस्तीमा डोजर आएमा डेढ लाख मानिस सडकमा उत्रिने छन् ।’

१९७९ सालअघि देशका सबै जग्गा सरकारी रहेको उल्लेख गर्दै विकले प्रधानमन्त्री बालेनका पिताले पनि राजा महेन्द्रको पालामा हुकुम प्रमाङ्गीका आधारमा बिघौं बिघा जग्गा प्राप्त गरेको बताए । उनले एउटै देशका नेपालीलाई दुईथरी नागरिकको जस्तो व्यवहार नगर्न चेतावनीसमेत दिए ।

‘बालेनका बुबालाई पनि राजा महेन्द्रले नै जग्गा दिएका हुन् । यो देशको सबै जग्गा राज्यकै हो,’ विकले भने, ‘एउटै देशमा एउटै नेपालीलाई दुईथरी व्यवहार गर्न पाइँदैन । कि त राज्यले सबै जग्गा आफ्नो नाममा राखेर जनतालाई समान रूपमा चलाउन दिनुपर्छ ।’