सुरुङ्गा, झापा । भरत प्रसाई,
झापाको कनकाई नगरपालिका–१ स्थित जामुनवारीका भीमबहादुर दर्जी र उनको पीडित परिवारले स्थानीय प्रहरी प्रशासनबाट न्याय पाउन नसकेको गम्भीर आरोप लगाएको छ। प्रहरीको चरम लापरवाही र गैरजिम्मेवारपनका कारण आफूहरूले उठिबास हुने स्थिति आएको र अकालमै छोरा गुमाउनुपरेको भन्दै दर्जी परिवारले न्यायका लागि सरोकारवाला सम्पूर्ण पक्षसँग गुहार मागेको हो।
पीडित दर्जी परिवारले आज (बुधबार) आफ्नै निवासमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी घटनाको यथार्थ विवरण सार्वजनिक गरेको छ। भीमबहादुरका २७ वर्षीय छोरा हेमन्त दर्जी (विशाल) ले गत वैशाख १ गते आफ्नै घरमा आत्महत्या गरेका थिए।
बुहारी पूजा मोहरा दर्जी र परपुरुषबीचको अनैतिक सम्बन्ध तथा त्यसपछि सिर्जना गरिएको मानसिक तनावका कारण छोराले बाध्य भएर आत्मघाती कदम चालेको परिवारको गम्भीर आरोप छ।
पत्रकार सम्मेलनमा मृतकका काका कैलाश नेपालीले दिएको जानकारी अनुसार, विशाल वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहँदा इजरायलमा बस्ने नाता पर्ने काकाका छोरा 'कान्टु' भन्ने व्यक्तिले बुहारी पूजासँगको अनैतिक सम्बन्धका भिडियो र तस्बिरहरू परिवारका सदस्यहरूलाई पठाउने गरेका थिए।
कतारमा रहेका विशाललाई समेत ती सामग्री पठाई, "तिम्री श्रीमती र छोरी मेरै हुन्" भन्दै लगातार मानसिक तनाव (टर्चर) दिने गरिएको खुल्न आएको छ।
यस्तो आपराधिक र अनैतिक क्रियाकलापविरुद्ध कारबाही र अनुसन्धानका लागि दर्जी परिवारले सुरुमा प्रहरी बिट दुर्गापुरमा जानकारी गराएका थिए। त्यहाँ सुनुवाइ नभएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा, इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड) हुँदै जिल्ला प्रहरी कार्यालय झापासम्म पटक–पटक पुगेर लिखित निवेदन दिँदा समेत प्रहरीले दोषीलाई पक्राउ गरी अनुसन्धान गर्न आनाकानी गरेको परिवारको गुनासो छ।
प्रहरीले समयमै कदम नचाल्दा नै विशालले ज्यान गुमाउनु परेको पीडित पक्षको दृढ दाबी छ।
"हामीले न्यायको याचना गर्दै जिल्लासम्म धाउँदा पनि प्रहरीले दोषीलाई पक्राउ गरी अनुसन्धान गर्न चासो देखाएन। प्रहरीको यही उदासीनताले हाम्रो भतिजको ज्यान लियो।"
— कैलाश नेपाली, मृतकका काका
मृतकका अर्का काका महेश दर्जीका अनुसार, दर्जी परिवारले आफ्ना समस्या र पीडा प्रहरी प्रशासन समक्ष राख्दा उल्टै प्रहरीले कतारमा रहेका विशाललाई तत्काल घर बोलाउन दबाब दिएको थियो। यदि घर नबोलाए इन्टरपोलमार्फत पक्राउ गरेर झिकाउने भन्दै प्रहरीले मानसिक धम्की समेत दिएको परिवारको भनाइ छ।
प्रहरीको सोही दबाब र घरको विवाद सुल्झाउने आसमा परिवारले विशाललाई गत माघ महिनामा नेपाल बोलाएको थियो। नेपाल आएपछि पनि 'कान्टु' नामक ती व्यक्तिले मानसिक टर्चर दिने क्रम नरोकेको र प्रहरीले कुनै कानुनी संरक्षण नदिएकै कारण बाध्य भएर विशालले नयाँ वर्षकै दिन आत्महत्याको बाटो रोजेको परिवारले बताएको छ।
हाल मृतक विशालकी श्रीमती पूजा विदेशमा रहेकी छिन्। आफूहरूले निवेदन दिँदा प्रहरीले जसरी दबाब दिएर छोरालाई विदेशबाट झिकायो, त्यसरी नै हाल विदेशमा रहेकी बुहारीलाई पनि तत्काल नेपाल झिकाएर घटनाको निष्पक्ष छानबिन गरिनुपर्ने दर्जी परिवारको माग छ।
अनैतिक कार्यमा संलग्न, दुरुत्साहन गर्ने र मानसिक यातना दिने मुख्य दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न उनीहरूले माग गरेका छन्।
मृतक विशाल र पूजाकी एक ५ वर्षीया नाबालक छोरी छिन्, जो हाल हजुरबुबा भीमबहादुर र दर्जी परिवारको संरक्षणमा रहेकी छिन्। पीडित परिवारले न्याय र आफ्नो संरक्षणका लागि मानवअधिकारवादी संस्था, सञ्चारकर्मी र नागरिक समाजसँग जोडदार अपिल गरेको छ।















