झापा । झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मंगलबार साँझ करिब ५ बजे सजग एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत ४ वर्षीय आरोग्य चिमरियालाई किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक गौरादह–७ निवासी खड्ग चिमरियाका छोरा हुन् । प्रहरीका अनुसार बसले बालकलाई घरमा झार्ने क्रममा दुर्घटना भएको हो । बसबाट ओर्लने क्रममा बालक बसमुनि परेपछि गम्भीर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनापछि बस र चालक गौरादहकै ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ ।
साँझ ७ बजे आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ भने प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।














