झापाको बिर्तामोडस्थित स्पाइन एक्स सुपरस्पेसियलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा एकै पटक एक बिरामीको दुवै घुँडाको लिगामेन्ट प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।

नेपालमै पहिलो पटक दुरविन (Arthroscopy) प्रविधिमार्फत एकै साथ दुवै घुँडाको यस्तो जटिल शल्यक्रिया गरिएको अस्पतालले दाबी गरेको छ ।

अस्पतालका अध्यक्ष एवं वरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीले बुधबार पत्रकार सम्मेलन आयोजना गरी पाँचथरका दुर्घटना घाइते डिल्ली सुवेदीको दुवै घुँडाको एकै साथ सफल शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

सवारी दुर्घटनाका कारण सुवेदीको दुवै घुँडाको एसीएल (ACL) र पीसीएल (PCL) लिगामेन्ट तथा कुर्कुरे हाड (Meniscus) समेत च्यातिएको जटिल र संवेदनशील समस्या रहेको डा. शाहीले बताउनुभयो ।

0788bdda-54b5-4ac9-99f0-b96d9d062dd3

विगतमा एउटा घुँडाको अपरेशन गरेर निको भएपछि मात्र अर्को घुँडाको गर्ने अभ्यास रहेकोमा, त्यसलाई तोड्दै यो नयाँ सुरुवात गरिएको अस्पतालले जनाएको छ ।

"पालैपालो अपरेशन गर्दा बिरामीले लामो समय कुर्नुपर्ने, खर्च बढ्ने र अन्य प्राविधिक समस्या समेत आउन सक्ने भएकाले जोखिमका बावजुद एकै पटक शल्यक्रिया गर्ने निर्णय लिएका हौं र यो पूर्ण रूपमा सफल भयो," डा. शाहीले भन्नुभयो ।

पत्रकार सम्मेलनमा डा. शाहीले खेलकुदका क्रममा घाइते हुने खेलाडीहरूका लागि अस्पतालले विशेष र द्रुत उपचार सेवा प्रदान गरिरहेको उल्लेख गर्दै चोट लागेलगत्तै उपचारमा आए खेलाडीहरू चाँडै निको भएर पुनः मैदान फर्कन सक्ने स्पष्ट पार्नुभयो ।

IMG_1045अब हाडजोर्नी तथा नशा सम्बन्धी सम्पूर्ण आधुनिक उपचार र शल्यक्रिया बिर्तामोडमै उपलब्ध भएकाले उपचारकै लागि काठमाडौँ वा विदेश धाउनुपर्ने बाध्यता अन्त्य भएको उहाँको दाबी छ ।


सफल शल्यक्रिया गराएका बिरामी डिल्ली सुवेदीले चिकित्सकहरूले जोखिम लिएर आफ्नो सफल उपचार गरिदिएको भन्दै अस्पतालको सेवाप्रति पूर्ण सन्तुष्टि व्यक्त गर्नुभयो । त्यस्तै, हस्पिटलकी सीईओ अस्मिता कठेतले स्पाइन एक्सले भित्र्याएको आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवाले पूर्वका बिरामीहरूलाई ठुलो राहत मिलेको र बिरामीको सन्तुष्टि नै अस्पतालको मुख्य उद्देश्य रहेको बताउनुभयो ।