काठमाडौँ । नेपालका चर्चित शीर्ष स्टारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य प्रस्तुति रहेको चलचित्र ‘हली’ आगामी साउन २२ गते दर्शकमाझ आउने भएको छ।

स्थापित कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफीमा तयार पारिएको एउटा बिशेष प्रमोशनल गीतलाई चलचित्रको मुख्य आकर्षणको रूपमा समावेश गरिएको छ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रले प्रदर्शन मिति तोक्दै आफ्ना पोस्टरहरू समेत सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको एउटा पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू ओम प्रतीक, सरोज खनाल, प्रमोद दीप र सुजता थापा रिसाहा स्वभावमा प्रस्तुत छन्, जसले उनीहरूबीचको सम्बन्धमा आएको खटपट र फिल्मको कथामा आउने मोडलाई सङ्केत गर्छ। त्यस्तै, पोस्टरको पृष्ठभूमिमा घरको दैलोभित्र र बाहिर थाल बोकेर बसेका दुई महिलाको दृश्यले समाजमा व्याप्त नारीको बेदना र बाध्यतालाई प्रस्तुत गरेको छ। निर्माण पक्षका अनुसार फिल्मको वास्तविक कथावस्तु टिजर र ट्रेलर रिलिज भएपछि थप प्रष्ट हुनेछ।

चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक आफैले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्।

चलचित्रका गीतहरूमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा गायक बाबुल गिरी र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ। गीतहरूको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्।

कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण बज्राचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेको यस चलचित्रलाई राहुल राईले छायांकन गरेका हुन् भने सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्। कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रको देशव्यापी वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल (OSR Digital) रहेको छ।