बिर्तामोड, ३१ जेठ : बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ मार्फत १ सय ६४ जनाले रोजगारी प्राप्त गरेका छन्।


बिर्तामोड उद्योग वाणिज्य संघसंगको सहकार्यमा अतिथि सदनमा शनिबारदेखि सञ्चालन भएको दुईदिने मेलाको समापन कार्यक्रममा मेलाका सहजकर्ता पाथवे नेपालका सेवक बजगाईले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार मेलामा २ हजार ८ सय ७१ जनाले अवलोकन गरेका छन् । आवेदन दिएका १ हजार ७६ जनालाई रोजगारीका लागि थप पहल गरिने जनाईएको छ । मेलामा २५ वटा रोजगारदाता संघ–संस्थाका स्टल राखिएका थिए। 

8 1

मेला समापन समारोहमा बोल्दै  प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँले रोजगारदाता र रोजगार खोजी गर्ने व्यक्तिबीच समन्वय स्थापित भएकाले मेलाले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो।

8888रोजगारदाताप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले देशको आर्थिक अवस्था चुनौतीपूर्ण रहे पनि आगामी दिनमा सुधार हुने अपेक्षा व्यक्त गर्दै छोटो समयको तयारीमा आयोजना गरिएको मेला सफल भएको बताउनुभयो।


त्यसैगरी बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले आवेदन दिएका बेरोजगार युवालाई विभिन्न व्यवसायिक प्रतिष्ठानसँग समन्वय गरी रोजगारी उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। रोजगार मेला प्रभावकारी भएको उल्लेख गर्दै उहाँले आगामी बजेटमा समेत यस्ता कार्यक्रम समावेश गर्न नगरपालिकासँग आग्रह गर्नुभयो।

7कार्यक्रमका अध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले नगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ प्रभावकारी र सशक्त ढंगले सञ्चालन गरिने बताउनुभयो।

मेलाको दुवै दिन उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो।