अर्जुनधारा। भरत प्रसाई , दक्ष श्रमिकको अभाव र बेरोजगारीको बढ्दो समस्यालाई एकसाथ सम्बोधन गर्ने उद्देश्यले झापाको अर्जुनधारामा आगामी असार पहिलो साता तीनदिने रोजगार मेला आयोजना हुने भएको छ।
अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा आगामी असार पहिलो साता उक्त मेला सञ्चालन हुन लागेको हो।
औद्योगिक क्षेत्रमा देखिएको जनशक्तिको संकट टार्न र स्थानीय युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरूसँग जोड्नका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने आयोजक पक्षको दाबी छ।
लामो समयदेखि स्थानीय तह र उद्योगी व्यवसायीबीच समन्वयको आवश्यकता महसुस भइरहेका बेला हुन लागेको यस मेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काले मेलाको मुख्य उद्देश्य नै श्रमिक खोज्ने उद्योगी र कामको खोजीमा रहेका युवाहरूबीच सिधा सम्पर्क (ब्रिज) गराउनु रहेको बताए। उनले बजारमा एकातिर बेरोजगारीको ठूलो समस्या रहेको र अर्कोतिर उद्योगहरूले कामदार नपाएर संकट ब्यहोर्नु परिरहेको विरोधाभासपूर्ण अवस्थालाई यस मेलाले धेरै हदसम्म समाधान गर्ने विश्वास व्यक्त गरे।
वाणिज्य संघका अध्यक्ष खड्काका अनुसार मेलामार्फत कम्तीमा १८० जना युवालाई प्रत्यक्ष रूपमा कार्यस्थलमै रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ। यसका लागि विभिन्न उत्पादनमूलक उद्योग, व्यापारिक प्रतिष्ठान, बैंकिङ तथा वित्तीय क्षेत्र र सेवामूलक व्यवसायका सञ्चालकहरूसँग आवश्यक समन्वय भइरहेको छ।

मेलाको विशेषता रोजगारी दिने कुरामा मात्र सीमित नरहेको उल्लेख गर्दै अध्यक्ष खड्काले मेलापछि पनि अल्पकालीन र दीर्घकालीन योजनाहरू सञ्चालन गरिने जानकारी दिए।
उनले भने, "मेलामा आएका तर सीप नभएका कारण छनोट हुन नसकेका अदक्ष कामदार तथा युवा–युवतीहरूलाई हाम्रो र नगरपालिकाको तर्फबाट विभिन्न सीपमूलक र व्यावसायिक तालिमहरू प्रदान गरिनेछ। तालिमपश्चात् उनीहरूलाई बजारको माग अनुसार योग्य बनाई स्वरोजगार बन्न प्रेरित गर्ने हाम्रो मुख्य योजना छ।"
आयोजकका अनुसार यो मेला केवल रोजगारीको बजारमा मात्र सीमित नभई स्थानीय पहिचान झल्काउने बहुआयामिक उत्सवका रूपमा समेत अघि बढ्नेछ। तीन दिनसम्म चल्ने मेलामा विभिन्न जातजातिका परम्परागत कला-संस्कृति झल्काउने जातीय झाँकी, विविध सांस्कृतिक कार्यक्रमहरूका साथै अर्जुनधारा क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनसँग सम्बन्धित गतिविधिहरूलाई समेत प्रमुखताका साथ समावेश गरिनेछ।
कार्यक्रमका लागि आवश्यक पर्ने सबै प्रकारका प्राविधिक, आर्थिक र व्यवस्थापकीय तयारी पूरा भइसकेको समेत आयोजक समितिले स्पष्ट पारेको छ।

यसैबीच, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगरमा यस्तो प्रकृतिको कार्यक्रम आयोजना गर्न केही ढिलाइ भएको स्वीकार गरेका छन्।
यद्यपि, ढिलै भए पनि यो कार्यक्रमले नगरको आर्थिक र सामाजिक समृद्धिको बलियो आधार निर्माण गर्ने उनको भनाइ छ। प्रमुख गोम्देनले रोजगार मेलाले स्थानीय स्तरमा रोजगारीका नयाँ सम्भावनाहरू उजागर गर्नुका साथै नागरिकहरूलाई बजारमा कुन क्षेत्रमा कस्तो जनशक्तिको माग छ भन्नेबारे प्रत्यक्ष जानकारी गराउने विश्वास व्यक्त गरे।
मेयर गोम्देनले सम्पूर्ण अर्जुनधारावासी युवा तथा बेरोजगार जनशक्तिलाई यो अवसरको पूर्ण सदुपयोग गर्न र मेलामा सक्रियतापूर्वक सहभागी हुन विशेष आग्रह समेत गरेका छन्।
सकेसम्म धेरै भन्दा धेरै नगरवासीले यसै मेलामार्फत रोजगारीको अवसर प्राप्त गरुन् र नगरको बेरोजगारी दर घटोस् भन्ने नगरपालिकाको मुख्य अपेक्षा रहेको उनले स्पष्ट पारे। नगर सरकारले आगामी दिनमा पनि युवा लक्षित सीप प्रवर्द्धन र स्वरोजगारका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर बजेट तथा योजना तय गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।














