बिर्तामोड, झापा
‘उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारमा अभिवृद्धि, बिर्तामोड नगरको विकास र सुशासन सहितको समृद्धि’ भन्ने मूल नाराका साथ बिर्तामोड नगरपालिका यतिबेला नगरबासीको आर्थिक जीवनस्तर उकास्न क्रियाशील देखिएको छ।
विपन्नताकै कारण रोजगारी र आयआर्जनबाट विमुख भएका परिवारलाई लक्षित गर्दै नगरपालिकाको लघु उद्यम शाखाले गरिबी निवारणका लागि विभिन्न उद्यम विकास सम्बन्धी तालिमहरू सञ्चालन गरिरहेको छ।
नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा विपन्न परिवारका लागि यस प्रकारका लघु तालिमहरू सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षमा पनि सिलाई-कटाई, अचार निर्माण, धुप तथा फिनल निर्माण सम्बन्धी तालिमहरू सम्पन्न भइसकेका छन्।
स्थानीय महिलाहरूलाई रोजगारीसँग जोड्दै उनीहरूलाई उत्पादनमुखी पेशामा आबद्ध गराउने अभिप्रायले प्रत्येक वर्ष फरक-फरक शीर्षकमा तालिम सञ्चालन भइरहेको बिर्तामोड नगरपालिका लघु उद्यम शाखाकी प्रमुख चनी माया तामाङले बताउनुभयो।
चनी माया तामाङ (प्रमुख, लघु उद्यम शाखा):
"बिर्तामोड नगरपालिकाको १२ लाख तथा सङ्घीय सशर्त कार्यक्रम अन्तर्गत तलबसहित १७ लाख (कुल २९ लाख) रुपैयाँको लगानीमा विभिन्न तालिमहरू सम्पन्न हुने चरणमा रहेका छन्।
यस आर्थिक वर्षमा मात्रै विपन्न परिवारका महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको छ, जसमा सिलाई-कटाईमा १९ जना, अचार निर्माणमा ३ जना, ब्युटी पार्लरमा १३ जना र धुप तथा साबुन निर्माणमा ३० जना गरी कुल ६५ जनाको सहभागिता रहेको छ।"
उद्यमी बनेपछि फेरियो दैनिकी: के भन्छन् लाभान्वित महिलाहरू?
नगरपालिकाले प्रदान गरेको निःशुल्क तालिम र प्राविधिक सहयोग पाएपछि स्थानीय महिलाहरू आत्मनिर्भर मात्र बनेका छैनन्, उनीहरूले समाजमा सकारात्मक उदाहणरू समेत प्रस्तुत गरिरहेका छन्।
बिर्तामोड-७ की स्थानीय नागरिक सुशीलादेवी आफूले पाएको सीपलाई समाजसेवा र व्यवसाय दुवैमा जोड्न चाहनुहुन्छ।
सुशीलादेवी:
"मैले नगरपालिकाबाट निःशुल्क पाएको तालिमको सही सदुपयोग गर्नेछु। अब गाउँमा पैसा नभएर सीप सिक्न नपाएका अन्य विपन्न दिदीबहिनीहरूलाई पनि म आफूले सिकेको तालिम निःशुल्क रूपमा प्रदान गर्नेछु र सँगै व्यवसाय सञ्चालन गर्ने योजना बनाएकी छु।"
तालिमपछि व्यावसायिक रूपमै ब्याग उत्पादन सुरु गर्नुभएकी बिर्तामोड वडा नम्बर २ निवासी टिका गौतम नगरपालिकाको यो कदमप्रति निकै कृतज्ञ हुनुहुन्छ।
ब्याग बनाएर मनग्य ,आम्दानी टिका गौतम:
"मैले सिलाई-कटाईको तालिम लिएपछि अहिले व्यावसायिक रूपमै ब्याग बनाउन सफल भएकी छु। यसबाट अहिले मनग्य आर्थिक आम्दानी भइरहेको छ। विपन्न र बेरोजगार महिला दिदीबहिनीहरूलाई रोजगारमा आबद्ध गराउन नगरपालिकाले खेलेको भूमिका साँच्चै प्रशंसनीय छ। म लघु उद्यम शाखालाई धन्यवाद दिन चाहन्छु।"
बिर्तामोड-२ कै अर्की लाभान्वित महिला दुर्गा खतिवडाले तालिमसँगै प्राविधिक सहयोग पनि प्राप्त गर्नुभएको छ।
मासिक ३५ हजारसम्म कमाउन सफल
दुर्गा खतिवडा: "मैले नगरपालिकाबाट तालिमका साथै इन्टरलक लगायतका प्राविधिक सामग्री र कुराहरू पनि पाएँ। व्यावसायिक रूपमा सिकेको यो सीपलाई सदुपयोग गर्न पाउँदा खुसी लागेको छ। अहिलेको सीप र व्यवसायबाट मैले मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म कमाउन सक्ने भएकी छु।"
बिर्तामोड वडा नम्बर ४ मा व्यावसायिक रूपमा ‘डिपा टेलरिङ हाउस’ सञ्चालन गर्दै आउनुभएकी दिपा राजवंशीले नगरपालिकाले आफूहरूलाई नयाँ जीवन दिएको बताउनुहुन्छ।
सिजनमा राम्रो व्यवसाय
दिपा राजवंशी:"सिजनका बेला म टेलरिङबाटै मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म कमाउन सक्छु। बिर्तामोड नगरपालिकाले हामी जस्तो विपन्न परिवारका महिलाहरूलाई घरमै बसेर रोजगारीसँग जोडिदिएको छ। हामी अत्यन्तै खुसी छौँ।"
घरपरिवार सम्हाल्दै अर्थोपार्जन
राधा राजवंशी:
त्यस्तै, अर्की लाभान्वित महिला राधा राजवंशीले तालिमले महिलाहरूको आत्मविश्वास बढाएको र दैनिकी बदलिएको अनुभव सुनाउनुभयो।
"बिर्तामोड नगरपालिकाले प्रदान गरेको यो तालिमले हाम्रो जीवन र दैनिकीलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ। अहिले हामी हाम्रो परिवारलाई पर्याप्त समय दिँदै घरमै बसेर मनग्य अर्थोपार्जन गर्न सफल भएका छौँ। गरिबी निवारणका लागि बिर्तामोड नगरपालिकाले खेलेको यो भूमिका साँच्चै उत्कृष्ट र उदाहरणीय छ।"
नगरपालिकाको यो प्रयासले स्थानीय स्तरमा बेरोजगारी र गरिबी न्यूनीकरणमा टेवा पुर्याउनुका साथै विपन्न महिलाहरूलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन ठूलो भूमिका खेलेको देखिन्छ।














