काठमाडौँ । १० खेलाडीमा सीमित भए पनि पाराग्वेले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै टर्कीलाई १–० ले पराजित गरेको छ। यस नतिजासँगै टर्की फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ।

पाराग्वेका मिडफिल्डर माटियास गालार्जाले खेल सुरु भएको मात्र ६४ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। २५ मिटर टाढाबाट उनले गरेको शक्तिशाली प्रहार सिधै जालीमा पुगेको थियो।

यो गोल विश्वकप २०२६ को अहिलेसम्मकै सबैभन्दा छिटो गोल बनेको छ। यसअघि केही घण्टाअघि मोरक्कोका इस्माइल साइबारीले स्कटल्यान्डविरुद्ध ७१ सेकेन्डमा गोल गर्दै बनाएको कीर्तिमान गालार्जाले तोडे।

पहिलो हाफको इन्जुरी समयमा पाराग्वेका कप्तान मिगुएल अल्मिरोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली दबाबमा परेको थियो। टर्कीका मेर्ट मुल्दुरसँग भएको भनाभनका क्रममा अल्मिरोनले आफ्नो मुख हातले छोपेका थिए।

भिडियो असिस्टेन्ट रेफ्री ९भिएआर० को समीक्षा पछि उनलाई सिधै रातो कार्ड देखाइएको थियो। विश्वकपमा लागू गरिएको नयाँ नियमअनुसार विवादास्पद वा आक्रामक परिस्थितिमा खेलाडीले हात, पाखुरा वा जर्सीले मुख छोपेमा रातो कार्ड दिइन्छ।

यो नियम बेन्फिकाका युवा खेलाडी जियानलुका प्रेस्टियानीमाथि रियल मड्रिडका स्टार भिनिसियस जुनियरविरुद्ध मुख छोपेर विभेदपूर्ण टिप्पणी गरेको आरोप लागेपछि लागू गरिएको हो।

अल्मिरोन बाहिरिएपछि पाराग्वेले पूरा दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो। टर्कीले लगातार आक्रमण गरे पनि पाराग्वेको रक्षापंक्तिले सबै प्रयास विफल बनायो।

प्रतियोगिताको पहिलो खेलमा अमेरिकासँग ४–१ ले पराजित भएको पाराग्वेले त्यसपछि शानदार पुनरागमन गर्दै महत्वपूर्ण जित हासिल गरेको हो।