बिर्तामोड, झापा ।
झापामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी जन्माइएको नवजात शिशुको हत्या गरी गाडेको र हाडनाता करणी गरेको गम्भीर अभियोग लागेका एक फरार प्रतिवादी इलामको फिक्कलबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, विशेष सुराकी र प्राविधिक अनुसन्धानको आधारमा जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी इलामको सूर्योदय नगरपालिका वडा नं. १० फिक्कल बजारस्थित मन्त्र होटलबाट ती प्रतिवादीलाई पक्राउ गरिएको हो।
घटनाको पृष्ठभूमि गत वैशाख २ गते झापाको शिवसताक्षी (परिवर्तित वतन जिल्ला ०४-४-१६ 'ग') स्थित एक खाली जमिनमा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको थियो। इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको अनुसन्धान टोलीसँगको प्रारम्भिक बयानका क्रममा पीडित बालिका (परिवर्तित नाम के.१) ले आफ्नै बुबा (परिवर्तित नाम २०८२/०८३ झिलझिले 'एल') ले जबरजस्ती करणी गरेपछि बच्चा जन्मिएको र बुबाकै सल्लाह बमोजिम उक्त शिशुको शव गाडेको खुलाएकी थिइन्।
घटना पश्चात् अभियुक्त बुबा कामको सिलसिलामा भन्दै रोल्पा पुगेर लुकिछिपी बस्दै आएका थिए। प्रहरीले वैशाख २ गते नवजात शिशु कर्तव्य ज्यान मुद्दा र वैशाख १० गते हाडनाता करणी कसूरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
रोल्पा प्रहरीसँगको समन्वयमा खोजतलास भइरहेका बेला उक्त स्थानबाट समेत भागी विभिन्न ठाउँमा लुकिछिपी बस्ने क्रममा अभियुक्त असार ३ गते इलामको फिक्कलमा फेला परेका हुन्। पक्राउ पर्दाको समयमा उनी आफ्नै जेठी छोरी (परिवर्तित नाम २०८२/०८३ झिलझिले के.) सँग बसिरहेका थिए।
पक्राउ परेका प्रतिवादीलाई असार ४ गते इलाका प्रहरी कार्यालय झिलझिले ल्याई झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) रञ्जन अवाले जानकारी दिएका छन्।
यसैबीच, प्रतिवादीकी पीडित छोरी (के.१) लाई सुरक्षित रूपमा आफन्तको साथमा काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।














