इलाम, सूर्योदय। इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कल माध्यमिक विद्यालयमा विद्यार्थीलाई अध्ययनसँगै कामको संसारसँग जोड्ने उद्देश्यले उद्यमशीलता प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।

'स्कुल टु वर्क ट्रान्जिसन (School to Work Transition)' कार्यक्रमअन्तर्गत आयोजित प्रदर्शनीमा विद्यार्थीहरूले समूहगत रूपमा तयार पारेका विभिन्न उत्पादनहरू प्रदर्शन तथा बिक्री–वितरण गरेका थिए। कार्यक्रममार्फत विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीप, उद्यमशीलता र व्यवसाय सञ्चालनका आधारभूत ज्ञान प्रदान गरिएको विद्यालयले जनाएको छ।

Messenger_creation_49EFA9A5-7A52-487F-9303-BCB9022B6F91

विद्यालयका प्रधानाध्यापक राजेन श्रेष्ठका अनुसार अध्ययनकै क्रममा विद्यार्थीलाई कामको संसारबारे जानकारी गराउन सके भविष्यमा उनीहरूले आफ्नै रुचि, क्षमता र सीपअनुसारको पेशा तथा रोजगारी छनोट गर्न सहज हुन्छ।

कार्यक्रमका फोकल पर्सन किरण नेपालले विद्यालयदेखि रोजगारीसम्मको यात्रा सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीलाई सम्भावित पेशागत अवसर पहिचान गर्न, माध्यमिक शिक्षापछिको अध्ययन, तालिम तथा रोजगारीका लागि आवश्यक तयारी गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

Messenger_creation_4D26EFAF-4284-4FBB-8C4B-2AC2184A8B9B

कामप्रतिको सम्मानको भावना विकास गर्ने, उद्यमशीलता सम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्ने र भविष्यको रोजगारीका लागि आवश्यक व्यवहारिक तथा प्राविधिक दक्षता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम ईन्स्योर परियोजना/हेल्भेटास नेपाल, परियोजना सहयोग इकाई, कोशी प्रदेश तथा सूर्योदय नगरपालिकाको सहकार्यमा सञ्चालन भएको हो।

Messenger_creation_09DA139F-2A14-40F6-B39C-8F3C854BFA81

छ दिने कार्यक्रम २०८३ जेठ ३१ गतेबाट सुरु भएको थियो। पाँचौँ दिन सम्पन्न व्यवसायिक योजना कार्यान्वयन तथा प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरूले आफ्नै व्यवसायिक अवधारणाअनुसार तयार पारेका सामग्री सार्वजनिक गर्दै बिक्रीसमेत गरेका थिए। शिक्षक रजिन ढुङ्गेल र डी.पी. कट्टेलले व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवहारिक सीपमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको अनुगमन ईन्स्योर परियोजनाका रिसु श्री बास्तबले गर्नुभएको थियो भने मूल्याङ्कनका लागि उद्योग वाणिज्य संघका प्रतिनिधिहरूलाई समेत आमन्त्रण गरिएको थियो।

एक सयभन्दा बढी विद्यार्थीको सक्रिय सहभागिता रहेको कार्यक्रम अत्यन्तै उपलब्धिमूलक र प्रभावकारी भएको शिक्षक किरण नेपालले जानकारी दिनुभयो। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र स्व-रोजगारप्रतिको सोच विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।