विराटनगर — कोशी प्रदेश सरकारले कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानलाई पूर्णता दिएको छ। प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोशी प्रदेश आमसञ्चार ऐन, २०८२ को दफा ४ बमोजिम प्रतिष्ठानका अध्यक्ष, प्रेस रजिस्ट्रार तथा सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहाल प्रतिष्ठानको अध्यक्षमा नियुक्त भएका छन्। त्यस्तै, प्रतिस्पर्धात्मक प्रक्रिया र अन्तर्वार्ताबाट छनोट भएका लिलाराज भट्टराई प्रेस रजिस्ट्रारमा नियुक्त भएका छन्।
प्रतिष्ठानका सदस्यहरूमा झापाका अर्जुन राजवंशी र विष्णुप्रसाद पोखरेल, मोरङकी शान्ति दाहाल, सुनसरीका ध्रुव ढकाल, धनकुटाका रमेशचन्द्र अधिकारी, ताप्लेजुङकी माला पालुङ्वा तथा उदयपुरकी रेणु पराजुली नियुक्त भएका छन्।
आमसञ्चार ऐन, २०८२ अनुसार प्रतिष्ठानमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत सञ्चार महाशाखाका प्रमुख र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरतबहादुर खड्का पदेन सदस्य रहने व्यवस्था छ। यससँगै प्रतिष्ठान ११ सदस्यीय बनेको छ।
प्रदेश सरकारले स्थापना गरेको प्रतिष्ठानले कोशी प्रदेशभित्र सञ्चालन हुने सञ्चार माध्यमहरूको दर्ता, नवीकरण, अनुगमन तथा अभिलेखीकरण गर्ने, सञ्चार क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने र पत्रकार तथा सञ्चारकर्मीहरूको पेशागत हित संरक्षण एवं क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएको छ।
प्रतिष्ठानलाई पूर्णता दिएसँगै प्रदेशस्तरमा सञ्चार क्षेत्रको नियमन, व्यवस्थापन र संस्थागत विकासका काम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।














