दमक, असार ३०। उर्जाशील साहित्य कला प्रतिष्ठान चारपाने, झापाले मंगलबार दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा आदिकवि भानुभक्त आचार्य को स्मरण गर्दै २१२औँ भानुजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाएको छ।
प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद सङ्ग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परम्परागत प्रमुख अतिथि, विशिष्ट अतिथि र विशेष अतिथिको व्यवस्था नगरी उपस्थित सम्पूर्ण स्रष्टा–सर्जकलाई अतिथिका रूपमा सम्मानपूर्वक आसन ग्रहण गराइएको थियो।
सामूहिक राष्ट्रगान तथा आदिकवि भानुभक्तसहित दिवंगत साहित्यकारहरूको एक मिनेट मौनधारणबाट सुरु भएको कार्यक्रमको उद्घाटन १० वर्षीया बालकवि रत्नश्री मिश्रले ब्यानर वाचन गरेर गरेकी थिइन्। उनी बिर्तामोडस्थित बुद्ध स्मृति एजुकेशन फाउन्डेसनमा कक्षा ५ मा अध्ययनरत छिन्।
कार्यक्रममा सहप्राध्यापक लीलाप्रसाद अधिकारीले आदिकवि भानुभक्तको जीवन र योगदानबारे प्रकाश पारेका थिए। विभिन्न साहित्यकारहरूले कविता, भानुभक्तीय रामायणका श्लोक तथा सिर्जना वाचन गरेका थिए। गोपाल दाहालले नाकबाट बाँसुरी र सनाही बजाएर सांगीतिक प्रस्तुति दिएका थिए भने कमलराज भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रतिष्ठानका सचिव देवीचरण भण्डारीले स्वरचित गीत प्रस्तुत गरेका थिए। उपाध्यक्ष भगवती ढुङ्गेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन सचिव भण्डारीले सहभागीप्रति आभार व्यक्त गर्दै गरेका थिए।














