बिर्तामोड । स्वदेशी उत्पादनको प्रवर्द्धन तथा नेपाली कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने उद्देश्यले युटर्न इन्टरनेसनल कम्पनी प्रालिले अर्जुनधारा युटर्न सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।
झापाको बिर्तामोडस्थित बसपार्क परिसरमा रहेको सेवा केन्द्रको आइतबार एक कार्यक्रमबीच कम्पनीका मार्केटिङ डाइरेक्टर अर्जुन गिरीले औपचारिक उद्घाटन गर्नुभयो। अर्जुनधारा डिपो प्रमुख पुष्पा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका प्रतिनिधि, बजार विक्रेता, सेवाग्राही तथा विभिन्न सेवा केन्द्रबाट प्रत्यक्ष लाभ लिइरहेका व्यक्तिहरूको सहभागिता थियो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गिरीले स्वस्थ शरीर नै मानिसको सबैभन्दा ठूलो सम्पत्ति भएकाले उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर गुणस्तरीय, अर्ग्यानिक तथा केमिकलरहित सामग्रीको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले युटर्न इन्टरनेसनलले व्यवसायिक नाफालाई मात्र केन्द्रमा नराखी उपभोक्ताको स्वास्थ्य र हितलाई समेत प्राथमिकतामा राखेर उत्पादन तथा बजारीकरण गर्दै आएको दाबी गर्नुभयो।
युटर्न इन्टरनेसनलले नेपाली कृषक तथा स्थानीय उत्पादकबाट विभिन्न कृषिजन्य सामग्री खरिद गरी त्यसको बजारीकरण गर्दै आएको जनाएको छ। कम्पनीले मह तथा मौरीजन्य उत्पादन, जडीबुटीजन्य सामग्री, ब्युटी पार्लरका सामग्री, हाउसहोल्ड सामग्रीलगायत विभिन्न वस्तुको उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।
कम्पनीका अनुसार हालसम्म देशभर ६५ वटा डिपो सञ्चालनमा रहेका छन्। विसं २०७७ सालमा स्थापना भएको युटर्न इन्टरनेसनलले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै नेपाली कृषकले उत्पादन गरेका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यसहित काम गर्दै आएको जनाएको छ।

उद्घाटन कार्यक्रममा अर्जुनधारा डिपोका प्रमुख दीर्घराज रोका मगरले स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले अर्जुनधारामा सेवा केन्द्र विस्तार गरिएको बताउनुभयो।
उहाँले देशलाई समुन्नत र आत्मनिर्भर बनाउन स्वदेशमै उत्पादन भएका वस्तुको प्रयोग बढाउँदै आयातमा कटौती गर्नुपर्नेमा जोड दिनुभयो।
स्थानीय उत्पादनको प्रयोग र बजारीकरणबाट स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
स्वदेशी उत्पादनलाई बजारसम्म पुर्याउनु चुनौतीपूर्ण भए पनि सामूहिक प्रयास र एकताका माध्यमबाट स्थानीय उत्पादनलाई राष्ट्रिय तथा विश्व बजारसम्म पुर्याउन सकिने उहाँले बताउनुभयो।
यस्तै, अर्जुनधारा डिपो प्रमुख पुष्पा गुरुङले आफूले शिक्षण पेसा छाडेर युटर्न इन्टरनेसनलसँग आबद्ध भएको जानकारी दिनुभयो। अर्ग्यानिक, स्वास्थ्यवर्धक तथा साइड इफेक्ट कम हुने कृषि तथा जडीबुटीजन्य उत्पादनको प्रवर्द्धन गर्दै जनसेवामा जोडिन पाउनु आफ्नो लागि खुसीको विषय भएको उहाँले बताउनुभयो।
स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार चिकित्सकको सल्लाहमा मात्रै बिरामीलाई उत्पादित सामग्री प्रयोग गर्न दिइने उहाँले स्पष्ट पार्नुभयो। उहाँका अनुसार विद्यार्थी, जागिर खोज्ने वा गर्ने व्यक्ति, फ्रीलान्सर, साना व्यवसायी तथा आत्मनिर्भर बन्न चाहने घरेलु महिलाहरूका लागि कम्पनीसँग आबद्ध भएर काम गर्ने अवसर उपयोगी हुन सक्छ।
कम्पनीले उत्पादन गर्दै आएको ‘हिमालयन चिया’मा २५ भन्दा बढी प्रजातिका जडीबुटी मिश्रण गरिएको जनाएको छ। त्यस्तै ‘मधुरक्षक’ नामक हर्बल चिया तथा पाँच प्रकारका तुलसीबाट तयार गरिएको ‘पञ्च तुलसी’लगायतका उत्पादन पनि कम्पनीले बजारमा ल्याएको छ। कम्पनीले यी उत्पादनलाई स्वास्थ्यवर्धक तथा प्राकृतिक सामग्रीका रूपमा प्रवर्द्धन गर्दै आएको जनाएको छ।
युटर्न इन्टरनेसनल प्रालिले आफूलाई स्वदेशी उत्पादनको राष्ट्रिय रूपमा बिक्री–वितरण तथा बजारीकरण गर्ने उद्देश्यले अनुभवी, भिजनरी र जागरुक नेपाली उद्यमीहरूको समूहद्वारा स्थापना गरिएको कम्पनीका रूपमा प्रस्तुत गरेको छ। कम्पनीले नेपाली कृषक तथा उत्पादकका वस्तुको प्रत्यक्ष बिक्री तथा बजारीकरणमार्फत आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रतिनिधि, बजार विक्रेता तथा विभिन्न सेवा केन्द्रबाट प्रत्यक्ष लाभ लिइरहेका सेवाग्राहीहरूले युटर्नका उत्पादन तथा कम्पनीसँगको आफ्नो अनुभवका विषयमा धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण अर्जुनधारा डिपोका प्रमुख दीर्घराज रोका मगरले गर्नुभएको थियो। बिर्तामोड बसपार्क परिसरमा सेवा केन्द्र सञ्चालनमा आएसँगै अर्जुनधारा तथा आसपासका उपभोक्ताले युटर्नका विभिन्न स्वदेशी उत्पादन तथा सेवामा सहज पहुँच पाउने अपेक्षा गरिएको छ।














