काठमाडौँ। नेपालमा पछिल्लो समय प्रविधिको प्रयोगसँगै डिजिटल माध्यमबाट हुने आर्थिक अपराध र साइबर ठगीका घटना तीव्र रूपमा वृद्धि भएका छन्। 'अन्तर्राष्ट्रिय चिट्ठा परेको', 'सस्तोमा फ्ल्याट वा सामान उपलब्ध गराइने', 'अनलाइन अफर' तथा 'आकर्षक वैदेशिक रोजगारी' जस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई ठग्ने गिरोह सक्रिय बनेका हुन्।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा देशभर दर्ता भएका कुल ५८ हजार ४ सय ७२ कसुरमध्ये १६ हजार ५ सय ११ वटा (२८.२३ प्रतिशत) घटना आर्थिक अपराधसँग सम्बन्धित छन्। जसमध्ये १३ हजार ८ सय ३७ बैंकिङ कसुरका मुद्दा रहेका छन्। प्रविधिको विस्तारसँगै परम्परागत ठगीको शैली फेरिएर मोबाइलमा आउने एउटा मेसेज, ओटिपी (OTP) वा शङ्कास्पद लिङ्कमा आधारित साइबर अपराधको रूप लिएको छ।

नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (SP) दिलीप गिरीका अनुसार प्रविधिको प्रयोग गरी मानिसको लोभ, डर र विश्वासलाई हतियार बनाएर आपराधिक समूहले रकम असुल्ने गरेका छन्। ब्युरोले सामाजिक सञ्जाल ह्याकिङ, ई-कमर्सका नाममा नक्कली सामान वा भुक्तानीपछि सामान नपठाउने, र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को दुरुपयोग गरी हुने ठगीप्रति सचेत गराएको छ।

यसैगरी कानुन व्यवसायीहरूका अनुसार दर्ताबिना सञ्चालित अनलाइन व्यापार र नक्कली सामाजिक सञ्जाल प्रोफाइलबाट रकम माग्ने क्रम बढेकाले सर्वसाधारण आफैँ सचेत हुनुपर्ने देखिन्छ।

 जनहितमा जारी

ठगीबाट बच्ने उपायहरू:

  • गोप्य विवरण सुरक्षित राख्ने: ओटिपी (OTP), पिन कोड, पासवर्ड तथा बैङ्किङ विवरण कसैलाई सेयर नगर्ने।

  • लिङ्क र एपमा सावधानी: अपरिचित व्यक्ति वा शङ्कास्पद स्रोतबाट आएका लिङ्क नखोल्ने र एप डाउनलोड नगर्ने।

  • प्रलोभनमा नपर्ने: चिट्ठा, उपहार, सस्तो सामान र वैदेशिक रोजगारीका नाममा आउने अफरहरूको पछाडि नलाग्ने।

  • आधिकारिकता जाँच: अनलाइन सपिङ वा कारोबार गर्नुअघि विक्रेताको व्यावसायिक दर्ता र ठेगाना पुष्टि गर्ने।

ठगिएमा तुरुन्त गर्नुपर्ने काम:

  • कारोबार रोक्का: तुरुन्तै सम्बन्धित बैङ्क वा ई-वालेटमा सम्पर्क गरी कारोबार रोक्का गर्न निवेदन दिने।

  • विवरण परिवर्तन: पासवर्ड, पिन र सुरक्षा कोडहरू तत्काल फेर्ने।

  • प्रमाण सुरक्षित राख्ने: ठगी गर्ने व्यक्तिसँग भएका च्याट, स्क्रिनसट, फोन नम्बर र भुक्तानी भौचर सुरक्षित राख्ने।

  • उजुरी दर्ता: नजिकैको प्रहरी कार्यालय वा नेपाल प्रहरीको साइबर ब्युरोमा तुरुन्त लिखित वा अनलाइन उजुरी दर्ता गराउने।