काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् ।

बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भए पनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरू नरहेको बताए । उनले सरकारलाई प्रश्न गर्ने अधिकार सबैसँग रहेको र रास्वपाका सांसदहरूले पनि प्रश्न सोध्ने गरेको उल्लेख गरे । त्यसलाई मन्त्री परिवर्तनसँग जोडेर हेर्न नहुने उनको भनाई छ ।

उनले भने, ‘प्रश्नहरू आउनु भनेको स्वाभाविक हो, त्यसलाई हामी अस्वाभाविक लिँदैनौँ । रास्वपाभित्र आफ्नै दल भएपनि हामी प्रश्नहरू सोध्ने गरेका छौँ, तपाईँले देख्दै आउनुभएको छ, हामी गर्छौँ प्रश्न गर्ने हाम्रो एउटा परिपाटी पनि छ । यसको अर्थ कुनै मन्त्री फेर्ने बिल्कुल छैन । कुनै त्यस्तो तयारी पनि छैन । त्यस्तो कुनै छलफल पनि छैन । ’

रास्वपाभित्र प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने परिपाटी रहेको उनको दाबी छ । सभापति लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र साहबीच कुनै मतभेद वा विवाद नरहेको पनि बताए । उनले दुई नेताबीच विवाद रहेको समाचारले आफूहरूलाई झन् नजिक ल्याउने बताउँदै प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भनेर लेखेका विषयलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने पनि बताए ।

 जनहितमा जारी

प्रधानमन्त्री कलाकार र कवि पनि भएकाले उनको अभिव्यक्तिका प्रत्येक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको उनको भनाई छ । उनले सिङ्गो पार्टी प्रधानमन्त्रीसँगै उभिएको जिकिर गरे ।

उनले भने, प्रधानमन्त्रीले लेख्नुभएको विषय अर्कै हो, उहाँ त एउटा पोएट पनि हो नि त । एउटा कलाकार पनि त हो नि त । एउटा कविको यत्रो भीडमा पनि मैले एक्लो महसुस गर्न सक्दिन र ? कति मान्छे हुनुहुन्छ तपाईँहरू । त्यसकारणले त्यस्तो त्यो हामीले सोचेजस्तो हो कि हरेक शब्दका अर्थहरू खोज्न गयौँ भने त्यसको राजनीतिक अर्थ भन्ने नै हुँदैन नि । यत्रो सिङ्गो पार्टी उहाँँसँग उभिएको छ ।’

उनले केन्द्रीय समितिलाई पूर्णता दिने प्रक्रिया पनि तत्काल सम्पन्न गर्नुपर्ने विषय नभएको बताए । पाँच वर्षभित्र क्रमशः अघि बढाउने कार्ययोजना रहेको बताउँदै उनले महाधिवेशनपछि पार्टीभित्रको समायोजन प्रक्रिया सकिसकेकोले विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्य व्यक्तिहरूलाई क्रमशः जिम्मेवारीमा ल्याउने बताए ।

रास्वपाभित्र दुई धार वा गुट रहेको भन्ने दाबीलाई पनि उनले अस्वीकार गरे । उनले पार्टीभित्र कुनै गुट नरहेको दाबी गरे । आफ्नो र प्रधानमन्त्री साहबीचको सम्बन्ध व्यक्तिगत बाचा नभई देश र इतिहासप्रतिको साझा प्रतिबद्धता भएको बताए । देशको भविष्य र इतिहासप्रति जिम्मेवार भएर सरकारले काम गरिरहेको दाबी गर्दै उनले सामान्य घटनालाई लिएर राजनीतिक सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्नु उचित नहुने बताए ।

सभापति लामिछानेले सरकारले राम्रोसँग काम गरिरहे पनि व्यवस्थापनमा केही कमजोरी देखिएको बताए । ग्यासमा हाल देखिएको अभावलाई सरकारको असफलतासँग जोडेर हेर्न नहुने बताउँदै उनले राम्रो काम गर्दागर्दै पनि कहिलेकाही समस्या देखिने गरेको बताए ।