बिर्तामोड । झापाको अर्जुनधारा –६ महानन्द चोकमा निर्माण सम्पन्न भइसकेको एउटा पक्का घर सार्ने काम भइरहेको छ ।
निर्माण सम्पन्न भइसकेको घर सार्ने र अग्लो बनाउने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, केही महिनादेखि १२÷१३ जना युवाहरुले महानन्द चोकमा घर सारिरहेका छन् ।
भारतमा प्रचलित ज्याक लिफ्टिङ विधि नेपालगञ्जका युवा भोलासिंह राठोरले नेपालमा पनि प्रयोगमा ल्याएका छन् । बाँके नेपालगञ्जको के.डब्लु.जे विल्डिङ हाउस लिफ्टिङ, सिफ्टिङ एण्ड सर्भिस प्रालिले घर सार्ने काम गरिरहेको छ ।
घर सार्ने र उचालेर अग्लो बनाउने काम गर्दै आएको छ । नेपालमा ७ वर्षदेखि घर सार्ने र अग्लो बनाउने काममा क्रियाशिल राठोरले हाल देशका विभिन्न जिल्लामा ९ वटा घर सार्ने र अग्लो बनाउने काम चलिरहेको जानकारी दिए ।
उनका अनुसार होचो भएर घरभित्र पानी पस्ने अवस्थामा अग्लो बनाउने र बाटोको क्षेत्रभित्र घर निर्माण भएको खण्डमा सार्ने काम गर्ने गरिएको छ । महानन्द चोकमा सडक विस्तारका क्रममा सडकको क्षेत्रले घर छुने भएपछि घरधनीले घर सारेका हुन् ।
घर नसार्दा सडक क्षेत्रभित्र पर्ने भाग भत्काउनुपर्ने थियो, घर धनीका अनुसार सुरक्षित हिसावले सार्न सकिने भएकाले घर नै सारेको हो ।
उक्त घरलाई ४० फिट दाँया र २५ फिट पछाडि सार्ने राठोरको भनाई छ । मिलेको जग्गामा बनेको घर एकैदिनमा ७÷८ फिटसम्म सार्न सकिन्छ, उनले भने यो घर तिनकुने भएकाले एक दिनमा धेरैमा ४ फिटसम्म मात्रै सारिएको छ । महानन्द चोकमा दैनिक १२ जना मजदुरले घर सोर्न काम गर्दै आएका छन् ।
९ सय स्क्वायर फिटमा बनेको २ तले सार्न ११८ वटा जग प्रयोग गरिएको छ । २ महिना १० दिनमा सार्ने भनिए पनि थप केही दिन लाग्न सक्ने जनाइएको छ । घर सार्दा नयाँ जग समेत बनाइने जनाइएको छ । कम्पनीले तालिम दिएका दक्ष मजदुरबाट काम गर्ने गरिएको उनको भनाई छ ।
महानन्द चोकमा रहेको घर सार्न १० लाखभन्दा बढि खर्च लाग्ने बताइएको छ । घर सार्न खर्चिलो भएपनि सुरक्षित बनाउन सकिने जनाइएको छ । भारतमा १७ वर्ष काम गरेको अनुभवका आधारमा नेपालमा पनि काम थालेको राठोर बताउँछन् ।
नेपालमा पनि घर होचो हुने, सार्नुपर्ने समस्या देखेर काम थालिएको उनको भनाई छ । उनको अघिल्लो पुस्ताले पनि यस्तै काम गरेको राठोरले जानकारी दिए ।
हाल झापा, इलाम, बुटवल, भैरहवा,धनगडी र नेपालमा उक्त काम सञ्चालन भइरहेको छ । कतिपयले निर्माण सम्पन्न भइसकेको घरलाई उचालेर अण्डर ग्राउण्ड समेत बनाउने गरेका छन् ।














