बाह्रदशी  विद्यार्थीको चौतर्फी क्षमता अभिवृद्धि गर्दै पढाइसँगै जीवनोपयोगी तथा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले झापाको बाह्रदशी –४, चकचकीमा रहेको कानगोई इंग्लिस स्कुलले नियमित कक्षासँगै उद्घोषण शिक्षा सञ्चालनमा ल्याएको छ।

विद्यालयले विद्यार्थीको शैक्षिक ज्ञानसँगै सिर्जनात्मक क्षमता, नेतृत्व क्षमता, आत्मविश्वास तथा व्यवहारिक सीप विकासलाई प्राथमिकतामा राख्दै अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न जीवनोपयोगी कार्यक्रम सञ्चालन गर्न थालेको हो।

विद्यालयका प्रधानाध्यापक सुनिल राजवंशीका अनुसार विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी समाज र रोजगारीसँग प्रत्यक्ष जोडिने किसिमको शिक्षा प्रदान गर्ने उद्देश्यले प्राविधिक तथा सिर्जनात्मक शिक्षालाई विद्यालयको नियमित गतिविधिसँग जोडिएको हो।

उनका अनुसार विद्यालय तहदेखि नै विद्यार्थीमा व्यवहारिक सीपको विकास गराउन सके भविष्यमा उनीहरूलाई आत्मनिर्भर बन्न समेत सहयोग पुग्नेछ।

गाउँ–समाजमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा विद्यार्थीले निर्धक्क भएर आफ्ना कुरा प्रस्तुत गर्न सकून् भन्ने उद्देश्यले उद्घोषण शिक्षा सुरु गरिएको बताउनुभयो।   

 जनहितमा जारी

उहाँले उद्घोषण तथा बोल्ने कलाले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै नेतृत्व क्षमताको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उद्घोषण तथा अभिव्यक्ति विकाससम्बन्धी प्रशिक्षणका क्रममा विद्यार्थीलाई उद्घोषण कला, प्रभावकारी बोल्ने तरिका, मञ्चमा उभिँदा हुने डर हटाउने उपाय, आत्मविश्वास बढाउने अभ्यास, औपचारिक तथा अनौपचारिक कार्यक्रम सञ्चालन गर्ने तरिका, अतिथि स्वागत, कार्यक्रमको सुरुआत तथा समापनलगायतका विषयमा प्रयोगात्मक अभ्यास गराइएको प्रशिक्षक एवं मोफसल अनलाइनका  सम्पादक भरत प्रसाईले बताउनुभयो।

उहाँका अनुसार विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान दिनेभन्दा पनि उनीहरूलाई मञ्चमा उभ्याएर बोल्न लगाउने, कार्यक्रम सञ्चालन गर्न दिने, छोटो भाषण तथा परिचय प्रस्तुत गर्न लगाउनेजस्ता प्रयोगात्मक अभ्यासले प्रभावकारी अभिव्यक्ति विकास गर्न सहयोग पुग्छ।

उक्त प्रशिक्षणमा कक्षा ५ देखि ८ सम्मका ४० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा विद्यार्थीहरूले पालैपालो मञ्चमा उभिएर आफ्नो परिचय दिने, विषयवस्तु प्रस्तुत गर्ने तथा कार्यक्रम सञ्चालन गर्ने अभ्याससमेत गरेका थिए।

विद्यालयले पछिल्लो समय नियमित पढाइसँगै अतिरिक्त तथा जीवनोपयोगी शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको सह–प्रधानाध्यापक राजवंशीले बताउनुभयो।


3333333-1भौगोलिक रूपमा केही दुर्गम क्षेत्रमा रहे पनि शहरी क्षेत्रमा रहेका विद्यालयसरह गुणस्तरीय शिक्षा र अतिरिक्त गतिविधि उपलब्ध गराउने प्रयासमा विद्यालय प्रशासन सक्रिय देखिएको छ।

विद्यार्थीलाई समयअनुकूल शिक्षा प्रदान गर्ने विद्यालय व्यवस्थापनको प्रयासलाई अभिभावक तथा स्थानीयस्तरबाट समेत सकारात्मक रूपमा हेरिएको छ।

capture-4विशाल कम्पाउण्ड, पारिवारिक वातावरण तथा विद्यार्थीमैत्री सिकाइ वातावरण रहेको विद्यालयले आगामी दिनमा पनि सामाजिक, सिर्जनात्मक, प्राविधिक तथा जीवनोपयोगी शिक्षाका थप कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।


विद्यालय प्रशासनका अनुसार विद्यार्थीलाई भविष्यमा जुनसुकै क्षेत्रमा प्रवेश गर्दा पनि आवश्यक पर्ने सञ्चार सीप, आत्मविश्वास, नेतृत्व क्षमता र व्यावहारिक ज्ञान विकास गराउने गरी शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाउँदै लगिनेछ।