झापा । साहित्य चौतारी झापाले संस्थाका प्रेस सल्लाहकार तथा सञ्चारकर्मी भरत भावुक प्रसाईको जन्मोत्सव विशेष कार्यक्रमका बीच मनाएको छ।
भदौ १० गते जन्मदिन परेका प्रसाईलाई साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, उपाध्यक्ष तथा वरिष्ठ चित्रकार हिम्मत नेम्बाङ, महासचिव गौरव श्रेष्ठलगायतको उपस्थितिमा टीका, माला र दक्षिणासहित सम्मान गरिएको हो।
साहित्य चौतारीले कार्यसमिति परिवारका सदस्यहरूको जन्मोत्सवलाई विशेष अवसरका रूपमा मनाउँदै उनीहरूको संस्थाप्रतिको योगदानको सम्मान गर्दै आएको छ। सोही परम्पराअनुसार प्रसाईलाई पनि आमन्त्रण गरी सम्मान गरिएको संस्थाले जनाएको छ।
सम्मानपछि प्रसाईले साहित्य चौतारीले आफ्नो जन्मोत्सवलाई विशेष बनाइदिएको भन्दै धन्यवाद व्यक्त गरे। उनले संस्थाको यो संस्कारले सदस्यहरूमा थप उत्साह र प्रेरणा प्रदान गर्ने बताउँदै आफू सञ्चारकर्मीका रूपमा संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले समय व्यवस्थापन भएसम्म कार्यसमिति परिवारका सदस्यहरूको जन्मोत्सव तथा विशेष अवसरमा कार्यालयमै आमन्त्रण गरी सम्मान गर्ने परम्परा रहेको बताए। कार्यक्रममा हिकोला हेरिटेजका कर्मचारी तथा साहित्य चौतारी झापाका पदाधिकारी एवं सदस्यहरूको समेत उपस्थिति थियो।














