बिर्तामोड । स्थानीय स्तरमा छरिएर रहेको सानो-सानो पुँजीलाई एकीकृत गरी ठूला विकास तथा उत्पादनमूलक आयोजनामा लगानी बढाउने उद्देश्यले स्थापित पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको छैटौं बार्षिक साधारणसभा शनिवार बिर्तामोडमा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष लालबहादुर साँवा लिम्बुको अध्यक्षतामा सम्पन्न साधारणसभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्दै सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने महत्त्वपूर्ण निर्णय पारित गरेको छ। बैठकले आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संसोधन र सञ्चालकहरूको बैठक भत्तासम्बन्धी प्रस्ताव समेत स्वीकृत गरेको छ।
कार्यक्रममा अध्यक्ष लिम्बुद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित हुनुका साथै आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन, एकीकृत वित्तीय विवरण, सञ्चालक समितिका निर्णयहरू र सञ्चालकको नियुक्ति अनुमोदन गरिएको छ। साथै, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव समेत सर्वसम्मत पारित भयो।

अध्यक्ष लिम्बुले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कम्पनीले चालू आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न पाँचवटा ठूला आयोजनामा कुल १७ करोड रुपैयाँ लगानी गरेको छ। जसअनुसार:
गोरक्ष हाइड्रोपावर: ५ करोड ३० लाख रुपैयाँ
कावेली इनर्जी: ५ करोड रुपैयाँ
लुका भिलेज: ४ करोड रुपैयाँ
लागुपाते हाइड्रोपावर: २ करोड २० लाख रुपैयाँ
किसान नेट प्रालि: ५० लाख रुपैयाँ
प्रतिवेदन अनुसार २०८३ असार मसान्तसम्म कम्पनीको बैंक खातामा १० करोड ९५ लाख ७३ हजार १२० रुपैयाँ मौज्दात रहेको छ। सो अवधिमा कम्पनीले कुल २४ लाख रुपैयाँ आम्दानी गरी सम्पूर्ण खर्च कटाएर १८ लाख ३७ हजार रुपैयाँ खुद बचत गर्न सफल भएको छ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख एवं कम्पनी समन्वयकर्ता पवित्रा महतरा प्रसाईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वित्तीय सल्लाहकार सरोज श्रेष्ठले कम्पनीको वित्तीय अवस्थाबारे जानकारी गराएका थिए भने इन्भेष्टमेन्ट को-अर्डिनेटर रामचन्द्र उप्रेतीले शुभकामना व्यक्त गरेका थिए।
सञ्चालकहरू सुवास भट्टराई, अग्निप्रसाद दुलाल, यशोदा चापागाँई, चन्द्रप्रसाद संग्रौला र शिव ढुङ्गेल लगायतको आतिथ्यता रहेको उक्त साधारणसभाको सञ्चालन कम्पनीका सचिव भीम लिवाङले गरेका थिए।














