झापा, भदौ १८। नारी सञ्चार गृह झापाले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ हजार रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपत्ति तथा राष्ट्रिय शोकको अवस्थामा स्थापना दिवस तथा वार्षिक साधारणसभा नियमित र निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्ने भएकाले यस वर्षका कार्यक्रमलाई सामान्य र आन्तरिक रूपमा मात्रै आयोजना गरिएको नारी सञ्चार गृहले जनाएको छ।
संस्थाले स्थापना दिवसका अवसरमा आयोजना गर्ने तीजलगायतका अन्य कार्यक्रमहरू समेत स्थगित गरेको छ। संकटको समयमा विपद् प्रभावित तथा पीडितलाई सहयोग पुर्याउने उद्देश्यले संस्थाको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १५ हजार रुपैयाँ जम्मा गरिएको हो।
नारी सञ्चार गृह झापाले १५औँ स्थापना दिवसका अवसरमा संस्था स्थापना गर्ने संस्थापक अध्यक्षसहित सम्पूर्ण संस्थापक कार्यसमितिप्रति सम्मान व्यक्त गरेको छ।
साथै, संस्थालाई सक्रिय राख्दै पहिचान स्थापित गर्न विभिन्न कार्यकालमा योगदान पुर्याउने पूर्वअध्यक्षहरू, निवर्तमान अध्यक्ष, वर्तमान कार्यसमिति तथा सम्पूर्ण सदस्यप्रति पनि शुभकामना तथा सम्मान व्यक्त गरिएको छ।
संस्थाले आफूहरूको सानो सहयोगले विपद्बाट प्रभावित नागरिकको पीडामा केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ।














