झापा, भदौ १८। नारी सञ्चार गृह झापाको १५औँ स्थापना दिवस तथा १४औँ वार्षिक साधारणसभाका अवसरमा तीन जना पत्रकारलाई लेखनवृत्ति प्रदान गरिएको छ भने एक जना सदस्यलाई ‘उत्कृष्ट सदस्य’का रूपमा सम्मान गरिएको छ।
लेखनवृत्ति प्राप्त गर्ने पत्रकारहरूमा किरण हुमागाईँ, सृजना परियार र सविना लिम्बू रहेका छन्। यस्तै, नारी सञ्चार गृहकी रंजिता खड्कालाई ‘उत्कृष्ट सदस्य’का रूपमा सम्मान गरिएको छ।
नेपाल पत्रकार महासंघ झापा शाखाले लेखनवृत्ति प्राप्त गर्ने पत्रकार तथा सम्मानित सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। महासंघले उनीहरूको आगामी पत्रकारिता यात्रा थप सशक्त, रचनात्मक र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरेको छ।
स्थापना दिवस तथा वार्षिक साधारणसभाको अवसरमा नारी सञ्चार गृह झापाका अध्यक्षसहित सम्पूर्ण परिवार, संस्थापक अध्यक्ष तथा संस्थापकहरू एवं झापाका अग्रज र सहकर्मी महिला पत्रकारहरूलाई समेत शुभकामना व्यक्त गरिएको छ।
महिला पत्रकारहरूको व्यावसायिक क्षमता विकास, सक्रियता र पत्रकारितामा उनीहरूको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले नारी सञ्चार गृहले विभिन्न कार्यक्रम गर्दै आएको छ।














