बिर्तामोड । जनस्वास्थ्य कार्यालय झापाले जिल्लाका १५ वटै स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। कार्यालयले यही असोज ५ गतेदेखि १९ गतेसम्म जिल्लाभर अभियान सञ्चालन गर्न लागेको हो।
चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आज आयोजित पत्रकारसँगको साक्षात्कार कार्यक्रममा जनस्वास्थ्य कार्यालय झापाले अभियानसम्बन्धी जानकारी दिएको हो। अभियानको सुरुवात असोज ५ गते मेचीनगर नगरपालिकाबाट गरिने जनस्वास्थ्य प्रशासक बिजकुमार दासले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्लाका १५ वटै स्थानीय तहका १३१ वटा खोप केन्द्रमार्फत करिब पाँच लाखभन्दा बढी नागरिकलाई जेईविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ।
अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी आवश्यक तयारी अघि बढाइएको कार्यालयले जनाएको छ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्न सक्ने गम्भीर रोग भएकाले यसको संक्रमणबाट बालबालिका तथा समुदायलाई सुरक्षित राख्न खोपलाई महत्वपूर्ण मानिन्छ। नियमित खोप सेवाअन्तर्गत बालबालिकालाई एक वर्षको उमेरमा जेईविरुद्धको खोप प्रदान गरिँदै आएको जनस्वास्थ्य प्रशासक दासले बताउनुभयो।
उहाँले लामखुट्टेको टोकाइबाट जोगिनु रोगबाट बच्ने महत्वपूर्ण उपाय भएको बताउँदै घरवरपर पानी जम्न नदिने, झुलको प्रयोग गर्ने तथा साँझ–बिहान लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन पनि आग्रह गर्नुभयो।
जनस्वास्थ्य प्रशासक दासका अनुसार सरकारले लक्षित उमेर समूहका नागरिकलाई निश्चित अवधिमा जेईविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। यस अभियानमा ३० वर्षभन्दा माथिका महिला तथा पुरुषलाई खोप लगाइने उहाँले जानकारी दिनुभयो।

खोप सुरक्षित रहेको बताउँदै दासले खोप लगाएपछि हुनसक्ने सामान्य असरबारे अनावश्यक भ्रममा नपर्न र निर्धक्क भएर खोप लगाउन सर्वसाधारणलाई आग्रह गर्नुभयो। उहाँले अभियानलाई सफल बनाउन लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउनसमेत अनुरोध गर्नुभयो।
जापानिज इन्सेफलाइटिसबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्न खोप अभियानसँगै जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिइने जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।
जिल्लाका सबै स्थानीय तहमा अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिने बताइएको छ।














