लेखक – देविभक्त श्रेष्ठ साहित्य चौतारी झापा नेपालका संस्थापक संरक्षक हुनुहुन्छ
राष्ट्रिय पुस्तकालय दिवस केवल एउटा औपचारिक दिवस मात्र नभएर पठन संस्कृति, ज्ञान, सिर्जना र पुस्तान्तरणको उत्सव हो। "पुस्तक जोगाऔँ, ज्ञान जोगाऔँ; ज्ञान बाँडौँ, पुस्ता जोगाऔँ" भन्ने मूल ध्येयका साथ मनाइने यो दिवसले समाजमा चेतनाको नयाँ किरण फैलाउन मद्दत गर्दछ।
पुस्तक केवल कागजी पाना वा अक्षरहरूको सङ्ग्रह मात्र होइन; यो त बितेको समयको आवाज, वर्तमानको ऐना र भविष्यको मार्गदर्शन गर्ने दीप हो। कसैको विचार, दुःख, अनुभव र अनुसन्धान नै लिपिबद्ध भएर पुस्तक बन्छ। मानव सभ्यताको स्मृतिलाई सुरक्षित राख्ने काम पुस्तकले नै गर्छ।
त्यस्तै, अध्यक्ष श्रेष्ठका अनुसार पुस्तकालयको महत्त्व ठूला भवन, भव्य उद्घाटन वा विशाल बजेटले होइन, त्यहाँबाट विकसित हुने चेतनाले निर्धारण गर्छ। एउटै कोठा वा सयवटा पुस्तक भए पनि यदि ती पढिन्छन् भने त्यो जीवित पुस्तकालय हो। पाठक नभएको पुस्तकालय मौन र निष्क्रिय गोदाम मात्र बन्न पुग्छ।
हामी यस्तो युगमा छौँ जहाँ इन्टरनेट र प्रविधि हाम्रो औँलाको टुप्पोमा उपलब्ध छ। सूचना र ज्ञान फरक कुरा हुन्—सूचना अपार हुन सक्छ, तर विवेक सीमित हुन्छ। त्यसैले आजको पुस्तकालय केवल कागजी पुस्तकको थुप्रोमा सीमित नभई डिजिटल पुस्तकालय, अध्ययन, अनुसन्धान, संवाद र सिर्जनाको साझा केन्द्र बन्नुपर्छ।

एउटा आधुनिक पुस्तकालयमा बालबालिका, विद्यार्थी, साहित्य, इतिहास तथा लोकसंस्कृति, अनुसन्धान र डिजिटल प्रविधिसहितका विभिन्न कक्षहरू हुनु आवश्यक छ।
विद्यालयस्तरबाटै विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गर्नका लागि मात्र नभई आफूलाई चिन्न र सोच्न सक्ने बनाउन 'सामाजिक पुस्तकालय घण्टा' र पठन अभ्यास लागू गरिनुपर्छ।
पुस्तकालय दिवसमा औपचारिक भाषण, माला वा फोटोमा मात्र सीमित नभई 'एक व्यक्ति-एक पुस्तक', 'एक गाउँ-एक पुस्तकालय' जस्ता अभियान चलाउनुपर्ने कुरामा अध्यक्ष श्रेष्ठ जोड दिनुहुन्छ। दिवसको वास्तविक उपलब्धि वर्षमा एक दिन कार्यक्रम गर्नुमा होइन, एक जना नयाँ पाठक जन्माउनुमा हुन्छ।
सम्पूर्ण लेखक, सर्जक, कलाकार, पाठक, शिक्षक, विद्यार्थी तथा पुस्तकालयकर्मीहरूमा शुभकामना व्यक्त गर्दै पठन संस्कृति र ज्ञानको दायरा फराकिलो बनाउनु नै आजको मुख्य आवश्यकता हो।














