दमक, भदौ २३ । झापाको दमकमा साहित्य, कला र सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘प्रतिभा र सिर्जना लोकार्पण’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्य कला सङ्गम दमकको आयोजनामा सूर्य दर्शन सहकारी संस्था लिमिटेडको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
साहित्य कला सङ्गम दमकका अध्यक्ष विन्दुप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतको सिलिगुडी निवासी वरिष्ठ साहित्यकार युवराज काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा डा. गोपालप्रसाद भण्डारी तथा भारत सिलिगुडीका साहित्यकार गोपालप्रसाद भट्टराई विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रमको प्रारम्भमा सङ्गमका उपाध्यक्ष **यादव अधिकारी ‘झाँक्रीखोले’**ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने चन्द्रा गड्तौला, उर्मिला भट्टराई र साथीहरूले स्वागत गीत प्रस्तुत गरी माहोललाई साहित्यिक तथा सांगीतिक बनाएका थिए। प्रमुख अतिथि युवराज काफ्लेले ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
सो अवसरमा विभिन्न साहित्यिक कृतिहरूको लोकार्पण गरिएको थियो। लोकार्पित कृतिमाथि जीवनहरि शर्मा र लीलाप्रसाद अधिकारीले समीक्षा प्रस्तुत गर्दै कृतिहरूको साहित्यिक महत्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा हरि पराजुली र दिलीप घिमिरेले गजल वाचन गर्नुभएको थियो भने गोपालप्रसाद भट्टराई, डा. खगेन्द्रप्रसाद दाहाल, दुर्गाप्रसाद सिग्देल, विवेक दुलाल क्षेत्री तथा दिल भुटानीले कविता वाचन गरी दर्शक तथा श्रोताको मन जित्नुभएको थियो। देवीचरण भण्डारीले बालगीत प्रस्तुत गर्नुभएको थियो भने रबट खड्काले गीतमार्फत कार्यक्रमलाई थप रोचक बनाउनु भएको थियो।

यसैबीच, पूर्व अध्यक्ष तथा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारीले युव कवि मोतिराम भट्टको जीवनीमाथि प्रकाश पार्नुभएको थियो। कृतिकार गोपालप्रसाद दाहालले लेखकीय मन्तव्य व्यक्त गर्दै सिर्जनाको यात्राबारे आफ्नो अनुभव साझा गर्नुभएको थियो।
कार्यक्रममा झापा, मोरङ तथा भारतका विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। प्रमुख अतिथि, विशिष्ट अतिथिहरू तथा विभिन्न संस्थागत व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
प्रमुख अतिथि युवराज काफ्लेले साहित्यले समाजलाई जोड्ने, संस्कृतिको संरक्षण गर्ने र नयाँ पुस्तालाई सिर्जनशील बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले नेपाल–भारतबीचको साहित्यिक सम्बन्ध अझ सुदृढ बन्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले साहित्यिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष विन्दुप्रसाद दाहालले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै साहित्य कला सङ्गमले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।














