भद्रपुर ।नेपाली संगीतलाई विश्व बजारमा पुर्‍याउने अभियानअन्तरगत मलेसियामा आयोजित ‘५औँ शिल्भर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०२६’ मा झापाली गायक तथा संगीतकार अर्जुन खरेल सम्मानित हुनुभएको छ। विगत १५ वर्षदेखि निरन्तर गीत-संगीत तथा समाजसेवामा सक्रिय रहँदै आएका खरेललाई उक्त समारोहमा ‘Best Lok Pop Song 2026’ विधाको अवार्ड प्रदान गरिएको हो।

प्रियासी म्युजिक प्रा.लि.को आयोजनामा मलेसियास्थित ग्रान्ड कन्टेनेटल होटलमा सम्पन्न उक्त भव्य कार्यक्रममा नेपाल वायु सेवा निगमका प्रबन्धक, पाइलट तथा राष्ट्रिय कलाकार विजय लामा, NRNA मलेसियाका अध्यक्ष, नेपालबाट पुग्नुभएका अन्य राष्ट्रिय कलाकारहरू तथा स्थानीय कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न स्रष्टा तथा कलाकारहरूले गायन र नृत्य प्रस्तुत गरेका थिए। सो क्रममा गायक खरेलले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू 'चमेली', 'दुई चुल्ठि', 'गोदावरी फुल' लगायतका प्रस्तुतिका साथ दर्शकहरूलाई नचाएका थिए।

झापाको भद्रपुर नगरपालिका वडा नं १० (केन्द्रमोड) निवासी खरेलले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र अवार्डहरू प्राप्त गरिसक्नुभएको छ।

bharat don

नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र नेपाली कलाकारको सिर्जना, प्रतिभा र योगदानलाई विश्व मञ्चमा चिनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।यस सम्मानले नेपाली संगीतको अन्तर्राष्ट्रिय यात्रामा अर्जुन खरेलको योगदानलाई थप उत्साह, हौसला र प्रेरणा प्रदान गरेको छ।