श्री छठ समाज सेवा समिति द्वारा ३५ जना आमाबुवालाई मिष्ठान्न भोजन र नगदसहित सम्मान

बिर्तामोड । कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर श्री छठ समाज सेवा समितिले आश्रममा रहेका आमाबुवासँग आत्मीयता साट्दै उनीहरूको मुहारमा खुसी ल्याएको छ। समितिले शिवसताक्षी नगरपालिका–१० माइधार  स्थित श्री लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगीराज श्री कमलनयनाचार्य आश्रममा रहेका ३५ जना आमाबुवालाई मिष्ठान्न भोजन तथा नगदसहित सम्मान गरेको हो।

IMG_1851आफ्ना सन्तानबाट टाढा रहेका वृद्ध आमाबुवासँग कुशे औंशीको पावन अवसरमा केही समय बिताउँदै सम्मान, माया र आत्मीयता प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको श्री छठ समाज सेवा समितिले जनाएको छ।

आश्रममा रहेका आमाबुवाहरूले भक्ति–भजनमार्फत आयोजक समितिका पदाधिकारीलाई स्वागत गरेका थिए। आश्रममा गुञ्जिएको भजन र आमाबुवाको आत्मीय मुस्कानले कार्यक्रमलाई थप भावुक र अर्थपूर्ण बनाएको थियो।

प्रचारात्मक सूचना

श्री छठ समाज सेवा समितिकी अध्यक्ष संगीता रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यता तथा औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्काको विशिष्ट आतिथ्यता रहेको थियो।

IMG_1885कार्यक्रममा बोल्दै अध्यक्ष संगीता रौनियारले कुशे औंशीको अवसरमा आश्रममा रहेका आमाबुवाबाट आशीर्वाद लिन पाउनु आफूहरूका लागि अत्यन्तै सौभाग्यको विषय भएको बताउनुभयो। उहाँले यस्तो अवसर सबैलाई प्राप्त नहुने उल्लेख गर्दै आमाबुवाको सेवा र आशीर्वाद जीवनकै महत्वपूर्ण सम्पत्ति भएको धारणा राख्नुभयो।

IMG_1868“कुशे औंशीका दिन आमाबुवाको आशीर्वाद लिन पाउनु हामी सबैका लागि निकै ठूलो सौभाग्य हो। आज यहाँ आएर आमाबुवासँग भेटघाट गर्न, उहाँहरूको सेवा गर्न र आशीर्वाद लिन पाउँदा म मात्र होइन, सिङ्गो श्री छठ समाज सेवा समितिका पदाधिकारी अत्यन्तै हर्षित भएका छौँ,” अध्यक्ष रौनियारले भन्नुभयो।

743288b9-7716-49a4-9316-a0968620801e

उहाँले श्री छठ समाज सेवा समितिले विभिन्न समयमा धार्मिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता मानवीय र सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आश्रम तथा मन्दिरमा कुनै समस्या आइपरेमा श्री छठ समाज सेवा समितिलाई सम्झनसमेत उहाँले आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जिउँदो देवता भनेकै आमाबुवा भएको बताउनुभयो। उहाँले आमाबुवाको सेवा गर्न सके मन्दिरमा गएर भगवानको पूजा गरिरहन आवश्यक नपर्ने धारणा व्यक्त गर्नुभयो।

IMG_1889

“आमाबुवा नै जिउँदा देवता हुनुहुन्छ। उहाँहरूको सेवा गर्न सकियो भने भगवानको पूजा गरेसरह हुन्छ,” न्यौपानेले भन्नुभयो।

उहाँले मानिसहरू जीवनमा सफलता प्राप्त गर्ने दौडमा व्यस्त हुँदा आफ्नै आमाबुवाबाट टाढिँदै जाने र अन्तिम समयमा आमाबुवाको बिछोड भएपछि पश्चात्ताप गर्ने अवस्था समाजमा बढिरहेको बताउनुभयो। आमाबुवालाई आफूले पालेको वा आफूले हेरचाह गरेको भनेर गर्व गर्नुभन्दा पनि जीवनभर आमाबुवाकै माया, संरक्षण र आशीर्वादमा आफूहरू सुरक्षित रहेको बुझ्नुपर्ने उहाँको भनाइ थियो।

684d4f89-d484-47ad-906a-15ccce6b606eआफ्नी आमा नरहेपछि मात्र आफूले आमाको वास्तविक महत्व अझ गहिरोसँग महसुस गरिरहेको बताउँदै न्यौपानेले आमाबुवाको महत्व उनीहरू साथमा रहँदा नै बुझ्न सबैलाई आग्रह गर्नुभयो।

“मेरी आमा अहिले हुनुहुन्न। त्यसैले अहिले म आमाको महत्व झन् बढी महसुस गरिरहेको छु। आमाबुवा साथमा हुँदा उहाँहरूको मूल्य बुझ्न सक्नुपर्छ,” उहाँले भावुक हुँदै भन्नुभयो।

उहाँले श्री छठ समाज सेवा समितिले धार्मिक तथा सामाजिक क्षेत्रमा निरन्तर गर्दै आएको सेवामूलक गतिविधिको प्रशंसा गर्दै आश्रममा रहेका आमाबुवासँग कुशे औंशी मनाउने कार्य अत्यन्तै प्रशंसनीय र अनुकरणीय भएको बताउनुभयो।

IMG_1854

कार्यक्रमका विशिष्ट अतिथि तथा औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्काले आश्रममा रहेका आमाबुवालाई आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभयो। उहाँले आमाबुवाको स्वास्थ्य र आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा पनि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ffba2d9d-b3e3-4ecd-b0fc-0f486654dd22कार्यक्रममा श्री छठ समाज सेवा समितिका पूर्व अध्यक्षहरू प्रेमचन्द्र चौधरी, देवेन्द्रकुमार सिंह, घनश्याम चौधरी, राजकुमार गुप्तालगायतले कुशे औंशीको अवसरमा गरिएको कार्यक्रम अत्यन्तै उत्कृष्ट, आत्मीय र समयसापेक्ष भएको प्रतिक्रिया दिनुभयो। उहाँहरूले आश्रममा रहेका आमाबुवासँग प्रत्यक्ष भेटेर आशीर्वाद लिन पाउनु व्यक्तिगत रूपमा समेत अविस्मरणीय क्षण भएको बताउनुभयो।

पूर्व अध्यक्ष घनश्याम चौधरीले मन्दिर तथा आश्रममा देखिएका समस्याका विषयमा बिर्तामोड उद्योग वाणिज्य संघलगायत विभिन्न संघसंस्थाले समेत सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। कुशे औंशीका दिन आमाबुवाको आशीर्वाद लिन पाउनु संस्था र व्यक्तिगत रूपमा आफूहरूका लागि समेत अत्यन्त फलदायी भएको उहाँले बताउनुभयो।

4247c911-5bdd-44d2-a205-c4f582d9ccbfमन्दिरका मूल पुजारी गुरु दामोदर सुवेदीले कुशे औंशीको पावन अवसर पारेर श्री छठ समाज सेवा समितिले आश्रममा रहेका वृद्ध आमाबुवालाई मिष्ठान्न परिकारसहित नगदद्वारा सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आश्रममा रहेका आमाबुवाको सेवामा संस्थाले देखाएको चासोले धार्मिक तथा सामाजिक क्षेत्रका अन्य संस्थालाई समेत सकारात्मक सन्देश दिएको बताउनुभयो।

कार्यक्रमका क्रममा अध्यक्ष संगीता रौनियारसहित श्री छठ समाज सेवा समितिका पदाधिकारीहरूले केही अशक्त आमाबुवालाई उहाँहरू बसिरहनुभएको कोठामै पुगेर मिष्ठान्न भोजन तथा नगद हस्तान्तरण गर्नुभएको थियो। शारीरिक रूपमा अशक्त भएका आमाबुवालाई कार्यक्रमस्थलसम्म ल्याउन कठिन हुने भएकाले आयोजकहरू आफैँ उहाँहरूको कोठामा पुगेर सम्मान गरेका थिए।

IMG_1887

आश्रममा सम्मानित एक आमाले श्री छठ समाज सेवा समितिले गरेको आत्मीय सम्मानले आफूहरूलाई नयाँ ऊर्जा दिएको बताउनुभयो। भावुक हुँदै उहाँले आफ्ना सन्तान विभिन्न ठाउँमा रहे पनि छठ समाजसेवा समितिका पदाधिकारी आफूहरूलाई भेट्न आएको क्षणले सन्तानकै अनुभूति गराएको बताउनुभयो।

“हाम्रा सन्तान कोही पूर्व, कोही पश्चिम, कोही टाढा र कोही नजिक छन्। आज तपाईंहरू यहाँ आएर हामीसँग भेट्नुभयो, माया दिनुभयो र आशीर्वाद लिनुभयो। तपाईंहरू सबैलाई धेरै धन्यवाद,” उहाँले भावुक हुँदै भन्नुभयो।

आश्रममा रहेका वृद्धवृद्धाको अनुहारमा सम्मान पाएपछिको खुसी र आयोजकहरूको सेवाभावले कार्यक्रमलाई विशेष बनाएको थियो। कुशे औंशीलाई केवल आफ्ना बुवाआमालाई सम्झिने दिनका रूपमा मात्र नभई अभिभावकविहीन तथा आश्रममा रहेका आमाबुवासँग प्रेम र आत्मीयता बाँड्ने अवसरका रूपमा मनाइएको आयोजकको भनाइ थियो।

d33b46a9-260f-4122-8e50-0f80577f01d4कार्यक्रममा पूर्व अध्यक्ष दामोदर सुवेदी, राजकुमार गुप्ता, रामेश्वर घिमिरे, घनश्याम चौधरी, देवेन्द्रकुमार सिंह, प्रेमचन्द्र चौधरी, युवा अध्यक्ष अमरजित शाह, सल्लाहकार शंकर भगत, सल्लाहकार मनोज चौधरी,  व्यवस्थापक जगतप्रसाद सुवेदी, मन्दिरका सचिव कमलप्रसाद निरौलालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन श्री छठ समाज सेवा समितिका उपाध्यक्ष मनोज रौनियारले गर्नुभएको थियो।