थिएटर शिक्षाबारे बिर्तामोडमा विज्ञसहितको प्यानल डिस्कसन, विद्यार्थीलाई अभिनयसँगै रङ्गमञ्चको विविध पक्षबारे जानकारी

झापा । चिल्ड्रेन इन्भायरमेन्ट स्कुलमा गठन भएको सिइएस थिएटर क्लब आफ्नो स्थापनाको दशौँ वर्षमा प्रवेश गरेको अवसरमा तीनदिने थिएटर तथा अभिनय कक्षा सञ्चालन गरेको छ। सिइएस थिएटर क्लबले छुनुमुनु चिल्ड्रेन थिएटर, काठमाडौंसँगको सहकार्यमा विद्यालयका विद्यार्थीलाई थिएटरसम्बन्धी आधारभूत जानकारी प्रदान गर्ने उद्देश्यले वर्कसप कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमको उद्घाटन सत्रअन्तर्गत पहिलो दिन ‘विद्यालयमा थिएटर शिक्षा’ विषयमा विभिन्न विषयविज्ञ तथा रङ्गकर्मीको सहभागितामा प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ। चर्चित पत्रकार तथा कार्यक्रम प्रस्तोता लीला अनमोलको सहजीकरणमा सम्पन्न प्यानल डिस्कसनमा रङ्गकर्मी तथा कलाकार टंक विकल्प, रङ्गकर्मी तथा क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पित खतिवडा, पदम थिएटर दमकका सदस्य तथा रङ्गकर्मी सुभाषचन्द्र खरेल, परिवर्तन नेपाल थिएटर काँकरभिट्टाकी कविता नेपाल तथा छुनुमुनु थिएटरका संस्थापक राजन भुजेललगायतले कला, रङ्गमञ्च तथा थिएटरका विषयमा आफ्ना अनुभव, संघर्ष र नवप्रवेशीलाई आवश्यक सुझाव प्रस्तुत गर्नुभएको थियो।

प्रचारात्मक सूचना

04 1

प्यानल डिस्कसनमा सहभागी वक्ताहरूले थिएटर केवल अभिनय गर्ने माध्यम मात्र नभई समाज, जीवन, कला, सिर्जना, प्रविधि र विभिन्न व्यक्तिको सामूहिक प्रयासबाट निर्माण हुने क्षेत्र भएको धारणा राखेका थिए। उनीहरूले विद्यार्थी जीवनदेखि नै थिएटर तथा कलासँग जोडिन सके व्यक्तित्व विकास, आत्मविश्वास, अनुशासन र सामाजिक चेतना अभिवृद्धिमा समेत सहयोग पुग्ने बताएका थिए।

IMG_1930

कार्यक्रमका क्रममा  कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल पदमजंग कुँवरले नाट्य तथा रङ्गमञ्चका माध्यमबाट विद्यार्थीलाई अनुशासित बन्न र वास्तविक जीवन बुझ्दै अघि बढ्न प्रेरणा मिल्ने बताउनुभयो। उहाँले विद्यालयस्तरमै यस्ता कार्यक्रमको आवश्यकता रहेको उल्लेख गर्दै आफू पनि आफ्नो विद्यालयमा यस्तै किसिमको कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको बताउनुभयो।

रङ्गकर्मी तथा कलाकार माधव कल्पित खतिवडाले थिएटरमा प्रस्तुत गरिने नाटकमा समाजमा रहेका विभिन्न पात्रहरूको चरित्रलाई जीवन्त रूपमा प्रस्तुत गरिने भएकाले यसले समाजलाई बुझ्न ठूलो मद्दत पुग्ने बताउनुभयो। उहाँले थिएटर र रङ्गमञ्चका विषयमा यस्ता प्यानल डिस्कसन तथा अन्तरक्रिया कार्यक्रम निरन्तर भइरहन आवश्यक रहेको धारणा राख्नुभयो।

रङ्गकर्मी खतिवडाले रङ्गकर्मी, नाट्यकर्मी तथा कलाकारलाई जीवित राख्ने र उनीहरूको सिर्जनात्मक यात्रालाई निरन्तरता दिने दायित्व राज्यको समेत भएको बताउँदै राज्यले जिम्मेवारी र जवाफदेहिताका साथ यस क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

02

प्यानल डिस्कसनमा सहभागी परिवर्तन नेपाल थिएटरकी कविता नेपालले थिएटरमा प्रवेश गर्नेबित्तिकै आफू अब्बल दर्जाको कलाकार बन्छु भन्ने सोच राखेर मात्र प्रवेश गर्न नहुने बताउनुभयो। उहाँले थिएटर निरन्तर अभ्यास, धैर्य र सिकाइको क्षेत्र भएको उल्लेख गर्दै थिएटरले समाजको जीवन्ततालाई प्रस्तुत गर्ने बताउनुभयो।

उहाँले निरन्तर अभ्यास गर्दै अगाडि बढेको अवस्थामा कलाकारले सफलता प्राप्त गर्नुका साथै मनग्य सामाजिक सम्मानसमेत हासिल गर्न सक्ने बताउनुभयो। झापामा थिएटरलाई केन्द्रमा राखेर प्यानल डिस्कसनसहितको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएकोमा उहाँले आयोजक तथा चिल्ड्रेन इन्भायरमेन्ट स्कुललाई विशेष धन्यवादसमेत ज्ञापन गर्नुभयो।

प्यानल डिस्कसनका अर्का वक्ता तथा छुनुमुनु थिएटरका संस्थापक राजन भुजेलले ‘थिएटर’ शब्द सुन्दा कतिपयलाई कुनै निश्चित स्थान वा भवन मात्र भन्ने बुझाइ हुन सक्ने भए पनि थिएटरभित्र धेरै पक्ष जोडिएको बताउनुभयो।

उहाँले थिएटरमा अभिनय गर्ने कलाकार मात्र नभई कलाकारलाई मञ्चमा प्रस्तुत गर्न सहयोग गर्ने प्रम्प बनाउने, लाइट व्यवस्थापन गर्ने, ध्वनि तथा कलर व्यवस्थापन गर्ने, मेकअप गर्ने लगायत विभिन्न प्राविधिक तथा सिर्जनात्मक जनशक्तिको सामूहिक स्वरूप नै थिएटर भएको स्पष्ट पार्नुभयो।

थिएटर एउटा व्यक्तिको प्रयासले मात्र नभई विभिन्न क्षेत्रका मानिसको सामूहिक सहभागिताबाट पूर्ण हुने उहाँको भनाइ थियो।

कार्यक्रममा अर्का वक्ताका रूपमा रहनुभएका रङ्गकर्मी तथा नाट्यकर्मी टंक विकल्पले नाटक के हो, नेपालमा नाटकको सुरुवात कसरी भयो तथा हिजोका नाटक र आजका नाटकमा आएको रूपान्तरणका विषयमा चर्चा गर्नुभयो। उहाँले समयसँगै नेपाली नाटक तथा रङ्गमञ्चले आफ्नो प्रस्तुति, शैली र विषयवस्तुमा परिवर्तन गर्दै आएको विषयमा समेत सहभागीलाई जानकारी गराउनुभयो।

IMG_1947

पदम थिएटर दमकका सदस्य तथा नाट्यकर्मी सुभाषचन्द्र खरेलले नाटकले समाजको वास्तविक जीवन्ततालाई प्रस्तुत गर्ने भएकाले नाटक तथा थिएटरसम्बन्धी ज्ञान हासिल गर्न निरन्तर अभ्यास आवश्यक रहेको बताउनुभयो।

उहाँले थिएटरलाई बुझ्न र यस क्षेत्रमा दक्षता हासिल गर्न नियमित रूपमा सिक्ने, अभ्यास गर्ने र सिर्जनात्मक गतिविधिमा सहभागी हुने वातावरण आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा उपस्थित अतिथि तथा विद्यार्थीलाई थिएटर क्लबका सदस्य सृष्टि बस्नेतले स्वागत गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विद्यालयबाट आएका विद्यार्थी, शिक्षक–शिक्षिका, रङ्गकर्मी तथा नाट्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सिइएस थिएटर क्लबको स्थापना २०७३ सालमा भएको हो।क्लबले आफ्नो स्थापनाको दशौँ वर्षमा प्रवेश गरेको अवसरमा झापाको बिर्तामोडबाट थिएटर तथा कलाकारितासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ। तीनदिने कार्यक्रमअन्तर्गत विद्यार्थीलाई थिएटर तथा अभिनयसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्नुका साथै थिएटरको अभ्यास, प्रस्तुति र रङ्गमञ्चका विभिन्न पक्षका विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

कार्यक्रमका समन्वयकर्ता  चलचित्र निर्देशक दिनेशराज शर्माले यस्ता कार्यक्रमलाई एउटा विद्यालय वा एउटा जिल्लामा मात्र सीमित नराखी अभियानकै रूपमा विभिन्न जिल्लामा सञ्चालन गर्दै लैजाने बताउनुभयो। उहाँले विद्यार्थीलाई थिएटर तथा कलासँग जोड्दै उनीहरूको सिर्जनशीलता, आत्मविश्वास र व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

वरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा कलाकार यम खरेल, सञ्चारकर्मी भरत प्रसाईं, देवेन्द्र प्रसाईं, नाट्यकर्मी राजेन्द्र भट्टराई, कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रिन्सिपल पदमजंग कुँवर, सिइएस थिएटर तथा छुनुमुनु थिएटरका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

IMG_1940

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिलाई चिल्ड्रेन इन्भायरमेन्ट स्कुलका प्रधानाध्यापक सन्तोष सुब्बाले न्यानो स्वागत गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सञ्चारकर्मी लीला अनमोल, कार्यक्रमका समन्वयकर्ता दिनेशराज शर्मा लगायत सम्पूर्ण थिएटर क्लब परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

सिइएस थिएटर क्लबले आफ्नो दशौँ वर्षको यात्रालाई केवल उत्सवका रूपमा मात्र नभई विद्यालय तहदेखि नै थिएटर तथा कलाको ज्ञान विस्तार गर्ने अभियानका रूपमा अघि बढाएको जनाएको छ।

क्लबले विद्यार्थीलाई अभिनय सिकाउने मात्र नभई रङ्गमञ्च, कला, समाज र जीवनबीचको सम्बन्ध बुझाउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।