बिर्तामोड । साहित्य, कला, संगीत, संस्कृति र सामाजिक चेतनाको साझा चौतारीका रूपमा स्थापित साहित्य चौतारी तथा सांस्कृतिक प्रतिष्ठान बिर्तामोड, झापाले विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित आफ्नो संस्थागत यात्रा र सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिएको छ।
संस्थाले ६२औँ राष्ट्रिय बाल दिवस, १६१औँ मोती जयन्ती, १४औँ फत्तेमान स्मृति दिवस, संस्थाका प्रथम संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको ६६औँ जन्मोत्सव तथा उहाँद्वारा लिखित पहिलो कविता संग्रह ‘देवीभक्तका सृजनाहरू’ को लोकार्पण एकैसाथ सम्पन्न गरेको हो।
कार्यक्रममा भोटेकोशी घटनामा दिवंगत भएका सबै ज्ञात–अज्ञातप्रति सामूहिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै राहत हस्तान्तरण गरिएको थियो। सोही अवसरमा संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको स्वागत गीतसमेत सार्वजनिक गरिएको थियो। विविध सिर्जना, कविता, गजल, मन्तव्य र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई भावनात्मक, साहित्यिक र सांस्कृतिक रूपमा विशेष बनाएको थियो।
संस्थाका उपाध्यक्ष हिम्मत नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाबाट अभिनन्दित महाकाव्यकार मित्रप्रसाद दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। संस्थाका सचिव तुलसीप्रसाद निरौलाले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाका सल्लाहकार तथा सञ्चारकर्मी सिरो सान्दाईले मृत्युपछि समवेदना व्यक्त गर्न सामाजिक तथा मानवीय अर्थबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा साहित्य चौतारीका निवर्तमान अध्यक्ष तथा रङ्गकर्मी टंक विकल्पले संस्थाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको संघर्षपूर्ण जीवनी, जीवनभोगाइ र साहित्यिक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गर्नुभयो। उहाँको प्रस्तुतिले श्रेष्ठको जीवनका आरोह–अवरोह, संघर्ष र सिर्जनात्मक यात्रालाई उपस्थितमाझ जीवन्त बनाएको थियो।
‘देवीभक्तका सृजनाहरू’ लोकार्पण
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा संस्थाका प्रथम संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठद्वारा लिखित पहिलो कविता संग्रह ‘देवीभक्तका सृजनाहरू’ लोकार्पण गरिएको थियो। १ सय ६ वटा कविता समेटिएको उक्त कृतिको प्रकाशक संस्थाकी संरक्षक उर्मिला बिमली श्रेष्ठ हुनुहुन्छ।
कविता संग्रहमा आज र भोलिका परिवर्तन, जीवनका भोगाइ, असन्तुष्टि तथा समसामयिक समाजका विविध पक्षलाई कविताका माध्यमबाट प्रस्तुत गरिएको छ। व्यक्तिगत अनुभूति र सामाजिक यथार्थलाई सिर्जनात्मक अभिव्यक्तिमा ढालिएको कृतिले वर्तमान समाजका आवाज, संवेदना र परिवर्तनका आकांक्षालाई समेटेको कार्यक्रममा वक्ताहरूले बताएका थिए।
कृति ‘देवीभक्तका सृजनाहरू’ माथि टिप्पणी गर्दै प्रा.डा. गंगाप्रसाद अधिकारीले आफूले आलोचना गर्ने ठाउँ नै नभेटेको बताउनुभयो। उहाँले कृतिका विविध पक्षमाथि चर्चा गर्दै श्रेष्ठको सिर्जनात्मक क्षमतालाई प्रशंसा गर्नुभयो।

अग्रज साहित्यकार इलामेली जेठो शिव अधिकारीले उत्कृष्ट सिर्जनाका रुपमा देवीभक्तका सृजनाहरूलाई व्याख्या गर्दै अत्यन्तै राम्रो कविता संग्रह साहित्य जगतले पाएको प्रतिक्रिया दिनुभयो।
प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’ले साहित्य चौतारी आफ्नो प्रेरणा र जन्मको उद्गमस्थल भएको बताउनुभयो। उहाँले साहित्य चौतारीले सिर्जनशील व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो।
अर्जुनधारा जलेश्वर धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले मृत्युपछि मात्र सम्मान गर्ने परम्परामाथि प्रश्न उठाउँदै जीवित व्यक्तिको योगदानको समयमा नै कदर गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले देवीभक्त श्रेष्ठ बहुप्रतिभाका धनी हुनुका साथै धर्म र संस्कृतिलाई अत्यन्त माया गर्ने व्यक्तिका रूपमा आफूले पाएको बताउनुभयो।
अग्रज साहित्यकार बिन्दु दाहाल ‘मुखदर्शक’ले सांगीतिक क्षेत्र हुँदै साहित्यमा प्रवेश गर्नुभएका श्रेष्ठले पहिलो पुस्तकबाटै आफूलाई विलक्षण प्रतिभाका स्रष्टाका रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो।
भोटेकोशीको पीडादेखि कविताको भावसम्म
कार्यक्रममा संस्थाकी कार्यसमिति सदस्य जमुना खरेलले भोटेकोशी घटनासम्बन्धी सिर्जना प्रस्तुत गर्नुभयो। भोटेकोशीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा प्रस्तुत सिर्जनाले कार्यक्रमस्थललाई भावुक बनाएको थियो।
त्यस्तै अग्रज सञ्चारकर्मी तथा गजलकार लीला अनमोलले देवीभक्त श्रेष्ठका कविता ‘हिजो, आज र भोलि’लाई माधुर्यपूर्ण स्वरमा प्रस्तुत गर्नुभयो। उहाँको प्रस्तुतीकरणसँगै कार्यक्रमस्थल नै भावुक र साहित्यिक वातावरणमा परिणत भएको थियो।
साहित्यकार पुण्यप्रसाद खरेलले ठूलो कविले लेखेको कविता मात्रै उत्कृष्ट र सफल हुने नभई जीवन्त शब्दसहित जनताका आवाज बोल्न सके हरेक कविता सफल र मर्मस्पर्शी बन्ने बताउनुभयो। उहाँले जन्मदिनको अवसरमा अध्यक्ष देवीभक्त श्रेष्ठलाई शुभकामनासमेत दिनुभयो।

कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका बटुक छत्रपति गुरागाईले मोतीराम भट्टको छन्द कविता प्रस्तुत गर्नुभयो। धामका सहायक अर्चक हेमन्त भण्डारीले संस्कार र संस्कृतिको संरक्षणमा साहित्य चौतारीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो।
गगन भट्टराईले ‘भोटेकोशी’ शीर्षकको गजल प्रस्तुत गर्नुभयो। कार्यक्रममा देवकोटाको ६८औँ स्मृति दिवससमेत मनाइएको थियो।
‘मृत्युपछि पनि शरीर समाजकै सम्पत्ति हो’
कार्यक्रमकै बीच साहित्य चौतारीका प्रथम संस्थापक तथा अध्यक्ष, नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका संयोजक तथा झापा जिल्ला संस्थागत साहित्य कला संस्कृति समन्वय समितिका संयोजक देवीभक्त श्रेष्ठले आफ्नो मृत्युपछि शरीरका प्रत्येक अङ्ग दान गर्ने घोषणा गर्नुभयो।
उहाँले जीवन र शरीरलाई प्रकृतिसँग जोड्दै मृत्युपछि पनि आफ्नो शरीर मानव सेवामा उपयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले आफूले प्राप्त गरेको शरीर केवल निजी सम्पत्ति नभएको उल्लेख गर्दै जीवनको अन्तिम श्वासपछि दुईवटा आँखा दुई शरीरमा हस्तान्तरण गर्ने घोषणा गर्नुभयो।
‘जसरी पहिलो श्वास पञ्चतत्वबाट प्राप्त भयो, जसरी यो शरीरले प्रकृतिबाट अन्न, जल, वायु, ताप र ऊर्जा तथा समाजबाट ज्ञान, संस्कार, प्रेम र सहारा प्राप्त गर्यो, त्यसरी नै जीवनपछि पनि शरीर अरूको सेवामा प्रयोग हुनुपर्छ’ भन्ने भाव उहाँको घोषणामा थियो।
उहाँको देहदान घोषणाले कार्यक्रमलाई साहित्यिक गतिविधिभन्दा माथि उठाएर मानवीय सेवा, सामाजिक उत्तरदायित्व र जीवनको अर्थसँग जोडेको थियो।
‘रक्सी’देखि ‘केतकी’सम्म
कार्यक्रममा संस्थाका सल्लाहकार तथा अग्रज साहित्यकार हरिनारायण भट्टराईले १ सय ८ पृष्ठको ‘रक्सी’ शीर्षकको कविता वाचन गर्नुभयो। उहाँले उक्त सिर्जनालाई उत्कृष्ट सिर्जनाका रूपमा प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महाकाव्यकार मित्रप्रसाद दाहालले बहुप्रतिभाका धनी देवीभक्त श्रेष्ठले कविता संग्रहका माध्यमबाट समसामयिक समाजको चित्रण गर्न सफल भएको प्रतिक्रिया दिनुभयो। उहाँले कला, साहित्य र संगीतको धरोहरका रूपमा साहित्य चौतारी स्थापित हुन सफल भएको बताउँदै यसको निरन्तरता सुखद र प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
यसै अवसरमा साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले अग्रज साहित्यकार मित्रप्रसाद दाहालद्वारा लिखित महाकाव्य ‘केतकी’ यही असोज २४ गते साहित्य चौतारीको प्रेक्षालयमा विशेष कार्यक्रमका बीच विमोचन गरिने घोषणा गर्नुभयो।
साहित्य, कला र संस्कृतिको क्षेत्रमा लामो समयदेखि क्रियाशील साहित्य चौतारीले आफ्ना संस्थापक अध्यक्षको जन्मोत्सव, कृति लोकार्पण, राष्ट्रिय तथा साहित्यिक दिवस, श्रद्धाञ्जली र मानवीय सेवाको भावलाई एउटै मञ्चमा जोड्दै कार्यक्रमलाई सिर्जना र सामाजिक उत्तरदायित्वको संगम बनाएको थियो।
साहित्यिक तथा सांस्कृतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति
कार्यक्रममा झापा जिल्ला संस्थागत साहित्यकला संस्कृति समन्वय समितिका सहसचिव राजु बराल, सचिव बिन्दु दाहाल ‘मुखदर्शक’, सदस्य मेघनाथ बन्धु, सदस्य तथा अग्रज सञ्चारकर्मी लीला अनमोल, साहित्य चौतारीका निवर्तमान अध्यक्ष तथा महासमिति परिवारका सदस्य टंक विकल्प, गोपीकृष्ण प्रसाई, शिवहरी पौडेल, सदस्य तथा गजलकार दिलिप घिमिरे, सदस्य तथा अग्रज साहित्यकार पुण्यप्रसाद खरेल, संस्थाका सल्लाहकार तथा आख्यानकार राजेन्द्र संग्रौला, निवर्तमान अध्यक्ष हस्त परियार, साहित्यकार पदम उप्रेती, साहित्यकार जमुना खरेल र शिवकुमार पौडेलको उपस्थिति रहेको थियो।
त्यस्तै साहित्यकार तथा गीतकार देवीचरण भण्डारी, साहित्यकार तथा भारतवर्षका साहित्य चौतारी नेपाल–भारत च्याप्टरका संयोजक डीएल प्रधान, रेसु बनेम, पूर्ण धिताल, कृष्णप्रसाद पौडेल, निर्मल दाहाल, विमान लामा तामाङ, इन्द्र बास्तोला, पदम अधिकारीलगायतको उपस्थिति थियो।
चौतारी कार्यसमिति सदस्य एनबी दाहाल, नवीन, चेतनाथ गुरागाई, रामप्रसाद दाहाल, छत्रपति गुरागाई, कृष्ण सुवेदी ‘निराकार’, डा. खगेन्द्रप्रसाद दाहाल, डीपी शर्मा, लीलाप्रसाद अधिकारी, मुक्ति अस्तित्व, यज्ञ परिश्रमी, ज्ञानु बुढाथोकी, अग्रज साहित्यकार बिन्दु दाहाल ‘मुखदर्शक’, सञ्चारकर्मी वीरू दर्नाल, साहित्यकार अश्विन लामिछाने, सञ्चारकर्मी तथा साहित्य चौतारीका प्रेस सल्लाहकार भरत भावुक प्रसाई, गायक ज्योति खाती, पत्रकार देव बास्कोटा, साहित्यकार भवानीप्रसाद गौतम, साहित्यकार शिवकुमार राजभण्डारी, साहित्यकार राजु बराल, सञ्चारकर्मी सुब्रत न्यौपाने, पंकज सिग्देल, गायक तथा संगीतकार दीपक राईमाझी, लिलानाथ खत्री, कृष्ण निरौला, भानुभक्त सुवेदी, मिना अधिकारी, साहित्यकार तुलसीप्रसाद निरौलालगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी भवानी क्षेत्री, सौगात मैनाली, जिना अधिकारी, मेघनाथ बन्धु, कमला नेम्बाङ, पवन ढकाल, लीला अनमोल, कर्णबहादुर डाँगी, कुमार श्रेष्ठ, अग्निप्रसाद सिग्देल, अर्जुनधारा जलेश्वर धामका पण्डित हेमन्त भण्डारी, छत्रपति गुरागाई, शेखर न्यौपाने तथा विशिष्ट अतिथि कोमलप्रसाद पोखरेलको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रकाशक तथा संस्थाकी संरक्षक उर्मिला बिमली श्रेष्ठ, प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’, विशिष्ट अतिथि प्रा.डा. गंगाप्रसाद अधिकारी, इलामेली जेठा हस्त परियार, रुद्र ओली, निवर्तमान अध्यक्ष तथा रङ्गकर्मी टंक विकल्प, राम ढकाल, निसन गुरागाई, मेष तिम्सिना, रोइका तिम्सिना, रक्षा तिम्सिना, कृष्णकुमार श्रेष्ठ, इन्दु दर्जी ‘महरा’ लगायत दर्जनौँ कलाकार, साहित्यकार तथा संगीतकर्मीको सहभागिता रहेको थियो।
साहित्य चौतारीको उक्त कार्यक्रमले एकातिर साहित्यिक सिर्जना, कृति विमोचन र स्रष्टा सम्मानको परम्परालाई निरन्तरता दिएको छ भने अर्कोतिर भोटेकोशीका दिवंगतप्रति श्रद्धाञ्जली, राहत हस्तान्तरण, देहदानको घोषणा र आगामी महाकाव्य विमोचनको घोषणामार्फत साहित्यलाई समाज, संस्कार, संस्कृति र मानवीय सेवासँग जोड्ने सन्देशसमेत दिएको छ।
कार्यक्रमका बीच देवीभक्त श्रेष्ठको आवाजमा रहेको शुभकामना गीतलाई सार्वजनिकरण गरिएको थियो। कार्यक्रमको सञ्चालन वरिष्ठ साहित्यकार भानुभक्त ‘कुभिण्डेलीले गर्नुभएको थियो।














