बिर्तामोड, झापा — महिला अधिकार, सामाजिक न्याय र सशक्तीकरणको क्षेत्रमा क्रियाशील संस्था ‘मेचीमहाकाली बुहारी संयुक्त आवाज’ को ६ औँ साधारण सभा तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। संस्थाको केन्द्रीय कार्यालय बिर्तामोड–५, झापामा एक समारोहबीच उक्त कार्यक्रम सम्पन्न भएको हो।
संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेको सभापतित्वमा आयोजित यस कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपसभापति शान्ता रोक्काको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा संस्थाकी कोशी प्रदेश संयोजक पिंकी थापा विशिष्ट अतिथि र झापा जिल्ला अध्यक्ष गङ्गा भट्टराई अतिथिका रूपमा आसनग्रहण गर्नुभएको थियो।

कार्यक्रममा झापा जिल्ला सह–संयोजक तथा कार्यक्रम सञ्चालिका रोशनी खनाल अधिकारी, सुनसरी जिल्ला उपाध्यक्ष लक्ष्मी अधिकारी काफ्ले, कमल उपशाखा संयोजक चन्द्रकला सुब्बा, दमक उपशाखा संयोजक अलिशा ओली लगायत संस्थाका सल्लाहकारज्यूहरू, कार्यसमिति परिवार तथा आजीवन सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको आरम्भमा झापा जिल्ला अध्यक्ष गङ्गा भट्टराईले स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य र अभियानमा सबैको एकताबद्ध सहभागिताको आवश्यकता औँल्याउनुभयो। त्यसपछि कोशी प्रदेश संयोजक पिंकी थापाले संस्थाको नियमावली वाचन गरी सुनाउनुभएको थियो।
सभामा केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै उहाँले संस्थाले महिला तथा बालबालिकाको अधिकार रक्षा, सामाजिक न्याय स्थापना, घरेलु हिंसा तथा पीडितहरूको पक्षमा बुलन्द आवाज उठाउँदै समाज रूपान्तरणका क्षेत्रमा हालसम्म गरेका गतिविधि र आगामी दिनका रणनीतिक योजनाहरूप्रति प्रकाश पार्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवम् जिसस झापाकी उपसभापति शान्ता रोक्काले शुभकामना मन्तव्य राख्दै कठिन परिस्थितिमा पनि सामाजिक सेवा, महिला सशक्तीकरण र न्यायका पक्षमा संस्थाले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता अभियानहरूलाई अझ प्रभावकारी र निरन्तरताका साथ अघि बढाउन शुभकामना दिनुभयो।
साधारण सभाको अवसर पारेर विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई हौसला प्रदान गर्दै प्रमाणपत्र वितरण समेत गरिएको थियो। उपस्थित विभिन्न पदाधिकारी तथा सदस्यहरूले संस्थाको आगामी यात्रालाई अझ सुदृढ, प्रभावकारी र व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता जाहेर गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष एवं केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने प्रमुख अतिथि, विशेष अतिथि, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन सदस्य तथा सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
“सेवा, एकता र न्यायको आवाजलाई अझ बुलन्द बनाउँदै समाज रूपान्तरणको यात्रामा मेचीमहाकाली बुहारी संयुक्त आवाज निरन्तर अघि बढ्नेछ” भन्ने दृढ सङ्कल्प र साझा प्रतिबद्धताका साथ कार्यक्रमको औपचारिक समापन गरियो।














