झापा, ५ असोज / दार्जिलिङ जर्नल पव्लिकेशन मिरिकको आयोजनामा पहिलो "मिरिक महफिल गजल" कार्यक्रम आइतबार मिरिकको कृष्णनगरस्थित जगजीत होटलको प्रेक्षागृहमा भव्यताका साथ सम्पन्न भएको छ।
नेपाली साहित्यको गजल विधामा आयोजित यस कार्यक्रममा गजल वाचन र गायनलाई एउटै मञ्चमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा पूर्वी नेपालकी सुपरिचित गजलकार लीला अनमोलको एकल गजल वाचन रहेको थियो भने खर्साङका गायक तथा संगीतकार महेश्वर लामाको एकल गायन प्रस्तुति रहेको थियो।

दार्जिलिङ जर्नल पव्लिकेशन भारतको मिरिकबाट सञ्चालित एक प्रतिष्ठित साहित्यिक तथा सांस्कृतिक संस्था हो। यस प्रकाशनले लामो समयदेखि दार्जिलिङ, खर्साङ, सिक्किम लगायत समग्र भारतीय नेपाली भाषी क्षेत्र र नेपालबीच साहित्यिक सेतुको रूपमा काम गर्दै आएको छ।

सिमानाको परिधिभन्दा बाहिर रहेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संवद्र्धन, नयाँ तथा पुरानो पुस्ताका स्रष्टाहरूबीच समन्वय र सीमापार साहित्यिक सम्बन्धलाई सुमधुर बनाउन यसले अहम् भूमिका खेल्दै आएको छ।
संस्थाका अध्यक्ष देवीलाल प्रधानको अहोरात्रको सक्रियताले गर्दा यो प्रकाशन आज नेपाली साहित्यिक जगतमा एक विश्वसनीय र गतिशिल मञ्चको रूपमा स्थापित भएको छ।
सिक्किम विश्वविद्यालयकी नेपाली विभाग प्रमुख डा. कविता लामाको प्रमुख आतिथ्य तथा साहित्यकार राजबहादुर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि लामाले मिरिकमा पहिलो पटक गजल वाचन तथा गायनको कार्यक्रम संयोजन गर्न सफल दार्जिलिङ जर्नल पव्लिकेशनका अध्यक्ष देवीलाल प्रधानको उच्च प्रशंसा गरिन्।
कार्यक्रममा कवि लीला अनमोलको चर्चित कृति ‘अन्तिम कुमारी रात’ कविता सङ्ग्रहको अन्तर्राष्ट्रियस्तरमा विमोचन तथा समीक्षा गरिएको थियो। कृतिमाथि शक्तिशाली स्रष्टा पवित्रा लामाले समीक्षात्मक टिप्पणी राखेकी थिइन्।
आयोजक तथा अध्यक्ष देवीलाल प्रधानले स्वागत मन्तव्य राख्दै गजलका दुई फरक आयाम (वाचन र गायन) लाई एउटै मञ्चमा जोडेर नेपाली गजलको मौलिकता र भावनात्मक पक्षको प्रत्यक्ष अनुभूति गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा उत्कृष्ट गजल प्रस्तुतिका लागि गजलकार लीला अनमोल, गायक महेश्वर लामा, साहित्य चौतारी झापा नेपालका संस्थापक संरक्षक तथा वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठ र नेपाली गजलका हस्ती गजलकार विवश बलिभद्र कोइरालालाई सम्मान गरिएको थियो।
गजलकार अनमोलले आफ्ना उत्कृष्ट नौवटा गजल प्रस्तुत गरेकी थिइन् भने गायक लामाले तीनवटा संगीतमय प्रस्तुति दिएर दर्शकको मन जितेका थिए।
सम्मानित स्रष्टाका तर्फबाट मन्तव्य राख्दै साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठले भाषा, साहित्य र कलालाई सिमानाले नछेक्ने बताउँदै अध्यक्ष देवीलाल प्रधानले लामो समयदेखि साहित्य सेतुको रूपमा उत्कृष्ट कार्य गर्दै आएकोमा कृतज्ञता व्यक्त गरे।

‘महफिल गजल’को रसास्वादन गर्न मिरिक लगायत नेपाल, दार्जिलिङ, खर्साङ र सिलगढीका ठूलो संख्यामा साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो।
कार्यकमलाई सफल बनाउन साहित्यकारहरु डाक्टर कमला तामाङ,साहित्य चौतारीका उपाध्यक्ष हिम्मत नेम्बाङ,महासचिव गौरव श्रेष्ठ, पत्रकार देवेन्द्र प्रसाईं, भरत प्रसाईं साथै देवका सुब्बा खवास,गणेश भट्टराई डाक्टर शुकराज दियाली,अमर रुम्दाली,एस.बि गजमेर,कैलाश खवास,कविर बस्नेत,दिलिप घिमिरे ,वरिष्ठ गायक तथा संगीतकार जीवन अधिकारी,राधिका प्रधान, अनुपमा प्रधान लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण चर्चित गजलकार विवश बलिभद्र कोइराला र मिरिकका विनोद खातीले संयुक्त रूपमा गरेका थिए।














