बिर्तामोड । झापाको बिर्तामोडमा रहेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय साहित्य चौतारी झापा भारतको मिरिकमा आयोजित एक विशेष साहित्यिक कार्यक्रममा सम्मानित भएको छ।
भारतको मिरिकबाट सञ्चालित प्रतिष्ठित साहित्यिक तथा सांस्कृतिक संस्था दार्जिलिङ जनरल पब्लिकेसनले कला, साहित्य र संगीतको क्षेत्रमा विगत २७ वर्षदेखि निरन्तर योगदान पुर्याउँदै आएको भन्दै साहित्य चौतारी झापालाई सम्मान गरेको हो।
मिरिकको कृष्णनगरस्थित जगजित होटलको प्रेक्षालयमा आयोजित कार्यक्रममा सिक्किम विश्वविद्यालयकी नेपाली विभाग प्रमुख डा. कविता लामा, साहित्यकार राजबहादुर राईसहित भारतवर्षका विभिन्न क्षेत्रका स्रष्टा तथा सर्जकहरूले साहित्य चौतारी परिवारलाई सम्मान गरेका थिए। सम्मान साहित्य चौतारीका संस्थापक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले ग्रहण गर्नुभएको थियो।
साहित्य चौतारी झापाका प्रथम संस्थापक तथा अध्यक्ष, नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका संयोजक एवं झापा जिल्ला संस्थापक साहित्यकला संगीत समन्वय समितिका संयोजक देवीभक्त श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष हिम्मत नेम्बाङ, महासचिव गौरव श्रेष्ठ, पूर्वसचिव तथा गजलकार दिलिप घिमिरे, मफसल अनलाइनका सम्पादक तथा प्रेस चौतारी नेपाल फिल्म सोसाइटीका प्रेस सल्लाहकार भरत प्रसाईलगायतको सहभागिता रहेको थियो।

नेपाली साहित्यको गजल विधालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा गजल वाचन र गायनलाई एउटै मञ्चमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा पूर्वी नेपालकी परिचित गजलकार तथा साहित्य चौतारीकी स्रष्टा लीला अनमोलले एकल गजल वाचन गर्नुभएको थियो भने गायक तथा संगीतकार महेश्वर लामाले एकल गायन प्रस्तुति दिनुभएको थियो।
सम्मान ग्रहण गर्दै साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठले प्राप्त सम्मान आफू व्यक्तिको नभई सम्पूर्ण साहित्य चौतारी परिवारको सम्मान भएको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय मञ्चमा साहित्य चौतारीलाई सम्मानित गरेकोमा आयोजक दार्जिलिङ जनरल पब्लिकेसन तथा कार्यक्रमका संयोजक देवीलाल प्रधानप्रति आभार व्यक्त गर्नुभयो।
श्रेष्ठले साहित्य चौतारीले लामो समयदेखि नयाँ तथा पुराना पुस्ताका स्रष्टा, सर्जक र संगीतकर्मीलाई एउटै मञ्चमा जोड्दै उनीहरूलाई सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको बताउनुभयो। उहाँले साहित्य, कला र संगीत कुनै भौगोलिक सीमाभित्र सीमित नरहने उल्लेख गर्दै नेपाल र भारतमा रहेका नेपालीभाषी साहित्य अनुरागीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
दार्जिलिङ, खर्साङ, सिक्किमलगायत भारतका विभिन्न क्षेत्रमा रहेका नेपालीभाषी साहित्यप्रेमी तथा स्रष्टाहरूलाई साहित्य चौतारीले निरन्तर आत्मीयताका साथ जोड्दै आएको बताउँदै श्रेष्ठले आगामी दिनमा नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिक तथा साहित्यिक सम्बन्ध अझ बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले सीमाको परिधिभन्दा माथि उठेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धन, नयाँ र पुराना पुस्ताबीच समन्वय तथा सीमापार साहित्यिक सम्बन्धलाई अझ मधुर बनाउने अभियानमा साहित्य चौतारी निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका बीच श्रेष्ठले नेपाल–भारत स्रष्टा समन्वयकर्ता तथा संस्थाका अध्यक्ष देवीलाल प्रधानलाई विशेष धन्यवादसमेत ज्ञापन गर्नुभयो।
मिरिकमा प्राप्त यो सम्मानले बिर्तामोडमा रहेर नेपाली साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा निरन्तर क्रियाशील साहित्य चौतारी झापाको यात्रा नेपालभित्र मात्र नभई सीमापार नेपालीभाषी समुदायसम्म विस्तार हुँदै गएको सन्देश दिएको छ।
नेपाली भाषा र साहित्यलाई साझा भावनाको डोरीले जोड्दै आएको साहित्य चौतारीका लागि मिरिकको यो सम्मान एउटा संस्थागत उपलब्धिसँगै नेपाल–भारत साहित्यिक आत्मीयताको एउटा सुन्दर अध्यायसमेत बनेको छ।














