बिर्तामोड । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले विपद्मा परेका नागरिकको सहयोगका लागि मानवीय अभियानलाई निरन्तरता दिँदै १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । इक्यान झापाको सामाजिक उत्तरदायित्व (सीएसआर) समितिको पहलमा संकलित उक्त रकम सम्बन्धित विपद् राहत कार्यमा हस्तान्तरण गरिएको हो । 


इक्यान झापाका सदस्य तथा पदाधिकारीहरूको सामूहिक प्रयासबाट संकलित सहयोग रकम विपद्का कारण समस्यामा परेका नागरिकको राहत तथा पुनःस्थापनाका लागि उपयोग हुने गरी हस्तान्तरण गरिएको इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीले जानकारी दिए । 

 मतदान गर्नुहोस


इक्यान झापा सीएसआर विभाग प्रमुख भण्डारीले सामाजिक उत्तरदायित्वलाई संस्थागत अभियानका रूपमा अघि बढाउन तथा सदस्यहरूलाई मानवीय सहयोगमा जोड्न आफुहरुले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्धेश्यले सहयोग गरेको जानकारी दिए ।

भण्डारीको समन्वयमा सीएसआर समितिले सदस्यहरूबाट सहयोग जुटाउने, संकलित रकमलाई पारदर्शी रूपमा व्यवस्थापन गर्ने र आवश्यकता भएका क्षेत्रमा पु¥याउने प्रक्रियालाई अघि बढाएको हो ।  


इक्यान झापाको व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने अवधारणालाई व्यवहारमा रूपान्तरण गर्ने क्रममा सीएसआर समितिले विभिन्न मानवीय कार्यमा सहयोग गर्दै आएको छ । इक्यान झापाका सदस्यहरूले आफ्नो जन्मदिनको अवसरमा व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्दै स्वेच्छिक रूपमा प्रदान गरेको उक्त रकम सीएसआर कोषमा जम्मा गरिएको थियो ।

जन्मदिनमा गरिने व्यक्तिगत खर्चको केही हिस्सा सामाजिक सेवामा समर्पण गर्ने सदस्यहरूको संस्कारले सीएसआर कोषलाई बलियो बनाउन योगदान पु¥याएको भण्डारीको भनाई छ।  त्यही रकम विपद्को समयमा आवश्यक व्यक्तिसम्म पु¥याउने अभियानमा प्रयोग हुनु सामाजिक उत्तरदायित्वको प्रभावकारी उदाहरण भएको समितिले जनाएको छ ।


इक्यान झापाले शैक्षिक परामर्श क्षेत्रको व्यावसायिक हितसँगै विद्यार्थी, अभिभावक तथा समुदायप्रतिको उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ । पछिल्लो समय प्राकृतिक विपद्का घटनाले ठूलो मानवीय तथा आर्थिक क्षति पु¥याइरहेका बेला निजी क्षेत्र र सामाजिक संस्थाबाट हुने यस्ता सहयोगले राहत कार्यमा थप टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

सीएसआर विभागका  भण्डारीले सदस्यहरूको सहयोग र विश्वास नै अभियानको मुख्य शक्ति भएको बताएका छन् ।  विपद्का बेला पीडितको आवश्यकता बुझेर सही ठाउँमा सहयोग पु¥याउनु नै सामाजिक उत्तरदायित्वको मूल उद्देश्य भएको उनको भनाई छ । 

इक्यान झापाले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।  सीएसआर समितिले सहयोग गर्ने सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै उनीहरूको योगदानले विपद्मा परेका व्यक्तिका लागि राहत पुग्ने विश्वास व्यक्त गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो । 

रकम जम्मा गरिएको चेक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खंड्कालाई संयुक्र रुपमा हस्तान्तरण गरिएको थियो ।