बिर्तामोड । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध बिर्तामोड नगरपालिकामा विशेष खोप अभियान सुरु भएको छ। नगरपालिकाका १० वटै वडामा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको अभियानअन्तर्गत ६० हजारभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।
बिर्तामोड नगरपालिकाले अभियानलाई प्रभावकारी बनाउन ५६ वटा खोप केन्द्र निर्धारण गरी ३० जना स्वास्थ्यकर्मी परिचालन गरेको छ। नगरपालिकाका फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक गणेश रिजालका अनुसार असोज ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने अभियानमा लक्षित उमेर समूहका नागरिकलाई निःशुल्क जेईविरुद्धको खोप प्रदान गरिनेछ।
यसैक्रममा बिर्तामोड नगरपालिका–१ मा पनि खोप अभियानको औपचारिक शुभारम्भ गरिएको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले स्वयं खोप लगाएर अभियानको शुभारम्भ गर्नुभएको हो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले जेईविरुद्धको खोप प्रभावकारी तथा विश्वसनीय भएकाले कुनै डर वा भ्रममा नपरी लक्षित उमेर समूहका नागरिकले अनिवार्य रूपमा खोप लगाउन आग्रह गर्नुभयो। उहाँले रोगको संक्रमणबाट सुरक्षित रहन खोप अभियानमा सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
बिर्तामोड–१ मा करिब १ हजार ४ सयभन्दा बढी नागरिकलाई लक्षित गरी विभिन्न स्थानमा खोप केन्द्र सञ्चालन गरिएको आधारभूत स्वास्थ्य केन्द्र–१ की जनस्वास्थ्य निरीक्षक प्रतीक्षा गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार वीरता सिटी अस्पतालमा असोज ९ देखि १२ गतेसम्म, अतिथि सदनमा असोज ९ देखि ११ गतेसम्म, बिर्तामोड आँखा अस्पतालमा असोज १० र ११ गते, ईकम कलेजमा असोज १० गते, वडा नम्बर १ को कार्यालयमा असोज ९ देखि १२ गतेसम्म तथा आधारभूत स्वास्थ्य केन्द्र–१ मा असोज १५ गते खोप सेवा सञ्चालन गरिनेछ।
कार्यक्रममा वडा सचिव जानुका देवी बस्नेतले जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने बताउनुभयो। संक्रमित सुँगुर तथा बङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस मानिसमा सर्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुका साथै खोप लगाउनु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।
झापामा पछिल्लो समय जेई संक्रमण बढ्दै गएपछि सरकारले उच्च प्राथमिकताका साथ विशेष खोप अभियान सञ्चालन गरेको हो। स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा यस वर्ष हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएकोमा सात जनाको मृत्यु भएको छ। संक्रमण र मृत्युदर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहका १३१ वडामा विशेष खोप अभियान सञ्चालन भइरहेको छ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासका अनुसार जिल्लामा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको हो। जिल्लाभर करिब ४ लाख ८५ हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ भने ९ सय खोप केन्द्रमार्फत सेवा सञ्चालन भइरहेको छ। अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका तथा तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
वडा नम्बर १ का वडा सदस्य योगचन्द्र आङबोहाङले जेईका कारण बिर्तामोड नगरपालिकामै समेत मानवीय क्षति भइसकेकाले संक्रमणले थप भयावह रूप लिन नदिन खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उहाँले लक्षित उमेर समूहका सबै नागरिकलाई आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन आग्रह गर्नुभयो।
यसैगरी, खोप लगाएपछि बिर्तामोड–१, सिरिजङ्गा विष्णु चौतारा टोल विकास संस्थाकी ज्येष्ठ नागरिक पवित्रा प्रसाईंले आफूलाई खोप लगाएपछि कुनै असहज असर नदेखिएको बताउनुभयो। उहाँले अन्य नागरिकलाई पनि ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो।
स्वास्थ्य कार्यालयका अनुसार झापामा यस वर्ष पुष्टि भएका संक्रमितमध्ये ३० वर्षमुनिका व्यक्तिमा समेत संक्रमण देखिएको छ। यसअघि २०६४ सालमा बालबालिकालाई लक्षित गरी जेईविरुद्धको खोप अभियान सञ्चालन भएकाले यसपटक त्यसबेला खोप लगाउने उमेर समूहलाई आधार मानेर ३० वर्षमाथिका नागरिकलाई लक्षित गरिएको हो।
स्वास्थ्य कार्यालयले गर्भवती महिला तथा तत्काल खोप लगाउन नमिल्ने स्वास्थ्य अवस्था भएका व्यक्तिले स्वास्थ्यकर्मीसँग आवश्यक परामर्श गरेर मात्र खोप लगाउनुपर्ने जनाएको छ। लक्षित समूहका नागरिकलाई नजिकको तोकिएको खोप केन्द्रमा पुगेर खोप लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
झापामा असोज ५ गतेदेखि सुरु भएको यो विशेष अभियान असोज १५ गतेसम्म सञ्चालन हुनेछ। जिल्लाका सबै स्थानीय तहमा अभियान सञ्चालन भइरहेकाले लक्षित समूहका नागरिकलाई खोप सेवाबाट नछुट्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।














