बिर्तामोड । झापाको बिर्तामोडमा रहेको साहित्य चौतारी झापाले पितृ पक्षको पहिलो दिन संस्थाका अध्यक्ष तथा संरक्षक देवीभक्त श्रेष्ठको अध्यक्षतामा विस्तारित बैठक सम्पन्न गरेको छ।
कार्यक्रमको सुरुवात सम्पूर्ण दिवंगत पितृहरूको स्मृतिमा १३ वटा दीप प्रज्वलन तथा एक मिनेट मौनधारणबाट गरिएको थियो। विस्तारित बैठकमा संस्थाका विभिन्न गतिविधि, आगामी कार्ययोजना तथा दार्जिलिङ र मिरिकमा भएको संस्थागत प्रतिनिधित्व र त्यसको समीक्षाका विषयमा छलफल गरिएको थियो।
बैठकमा संस्थाका सचिव तुलसीप्रसाद निरौलाले आगामी पितृ विसर्जन कार्यक्रम तथा असोज २४ गते आयोजना हुने महाकाव्यकारको कृति लोकार्पणसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय तथा अनुमोदन गरिएको सचिव निरौलाले जानकारी दिनुभयो।
यसै अवसरमा साहित्य चौतारीका मानार्थ सल्लाहकार प्रा. लोकनाथ पौडेलको जीवनमा आधारित जीवनीपरक वृत्तचित्रसमेत लोकार्पण गरिएको छ। पौडेलको जीवन, संघर्ष, योगदान र बहुआयामिक व्यक्तित्वलाई समेटिएको करिब ३५ मिनेट लामो वृत्तचित्र डिजिटल प्रविधिको प्रयोग गरी निर्माण गरिएको हो।
प्रविधिको विकाससँगै सञ्चारको दायरा फराकिलो हुँदै गएको सन्दर्भमा वृत्तचित्रमार्फत प्रतिनिधि पात्रको जीवनका महत्वपूर्ण पक्षलाई अभिलेखीकरण गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
वृत्तचित्रको स्वराङ्कन, लेखन तथा निर्देशन दिपेन भेटवालले गर्नुभएको हो। बिर्तामोड, अर्जुनधारा तथा सूर्योदय नगरपालिकालगायतका विभिन्न स्थानमा यसको छायांकन गरिएको निर्देशक भेटवालले जानकारी दिनुभयो।
सरल र सहज शैलीमा प्रस्तुत गरिएको वृत्तचित्रमा लोकनाथ पौडेलको जीवनयात्रा, संघर्ष र योगदानलाई समेटिएको छ। यद्यपि उहाँलाई नजिकबाट चिन्ने तथा उहाँको जीवनसँग प्रत्यक्ष जोडिएका व्यक्तिहरूका धारणा र अभिमत समावेश गर्न नसकिएको निर्माण पक्षले जनाएको छ। त्यसका बाबजुद वृत्तचित्रले पौडेलको जीवन र व्यक्तित्वलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।
वृत्तचित्रको सम्पादन आशिष पौडेलले गर्नुभएको छ भने संयोजन जितेन्द्र श्रेष्ठ तथा छायांकन विष्णु श्रेष्ठ र सन्तोष धिमिरेले गर्नुभएको हो।
कार्यक्रममा साहित्य चौतारीका कार्यसमिति सदस्य तथा लोकनाथ पौडेलकी छोरी चित्रा पौडेलले आफ्ना बुबाको जीवन, संघर्ष र योगदानका विषयमा नयाँ पुस्ता तथा समाजले जान्न चाहेको अवस्थामा वृत्तचित्र महत्वपूर्ण स्रोत बन्ने बताउनुभयो। उहाँले बुबाको जीवनयात्रालाई अभिलेखीकरण गर्ने प्रयासप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा साहित्य चौतारी झापाका संरक्षक एवं अध्यक्ष देवीभक्त श्रेष्ठले प्रा. लोकनाथ पौडेल बहुआयामिक व्यक्तित्वका धनी रहेको बताउँदै उहाँको जीवन र योगदानलाई अभिलेखका रूपमा सुरक्षित गर्नु महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।
यसै अवसरमा क्रोधकला शिरोमणि तथा प्राज्ञ कालु कुमालप्रति विशेष स्मरण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। बैठकले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्तावसमेत पारित गरेको थियो।
कार्यक्रमको सहजीकरण पत्रकार तिलक योञ्जनले गर्नुभएको थियो।














