बिर्तामोड । साउदी अरबमा ड्युटी बस्ने क्रममा लडेर गम्भीर घाइते भएका बिर्तामोडका चन्द्रप्रसाद चापागाईंलाई अन्तराष्ट्रिय झापाली समाजले उद्दार गरेर परिवारको जिम्मा लगाएको छ ।
एक बर्षअघि साउदी अरबको दमाम शहरमा रोजगारीका लागि गएका चापागाईँ गत जेठ ३ गते ड्युटी जानका लागि लाइनमा लाग्ने क्रममा एक्कासी लडेका थिए ।
लडेर बेहोस भएका बिर्तामोड-५ का ३६ बर्षिय चापागाईँलाई स्थानीय दमाम कम्प्लेक्स हस्पिटलमा भर्ना गरिएको थियो ।
दमाम कम्प्लेक्स हस्पिटलको भेन्टिलेटरमा २ महिनासम्म उपचार गरेर उनलाई सोही स्थानको नारिया जेनेरल हस्पिटलमा उपचार गरिएको थियो ।
सो हस्पिटलमा झण्डै साढे ३ महिनाको उपचारपछि चापागाईँको होस आएको थियो । ५ महिनाजति बेहोस रहेका चापागाईँको होस खुलेपछि अन्तराष्ट्रिय झापाली समाज साउदी अरबको सहयोगमा नेपाल ल्याइएको छ ।
उनलाई नेपाल ल्याउनका लागि समाजका सदस्यसमेत रहेका बिर्तामोडका सन्तोष पाठक, हेमचन्द्र थापा लगायतले सहयोग गरेका हुन् । पाठक समस्यामा परेका नेपालीलाई सहयोग गर्न सधै अग्रसर हुँदै आएका छन् ।
बिर्तामोड-५ मा रहेको डेरामा सोमबार साँझ ल्याइएका चापागाँईँ अहिले पनि अर्धचेत अवस्थामा ओछ्यानमा छन् ।
उनको पत्नी शान्तिले रेखदेख गरिरहेकी छन् । दुई नावालक छोरा र छोरीका अभिभावक चापागाई आफै बिरामी परेपछि परिवारको बिचल्ली भएको छ ।
हामीले उहाँलाई धेरै अगाडि नै नेपाल ल्याउन खोजेका थियौ, उताको उपचार प्रभावकारी र खर्च बीमाबाट हुने व्यवस्था थियो ।
चापागाईँलाई नेपाल ल्याउन पहल गरेका पाठकले भने(ुबेहोस अवस्थामा नेपाल ल्याउँदा आर्थिक अभावमा परिवारले उपचार गर्न नसक्ने भएका कारण स्वास्थ्य अलि राम्रो भएपछि ल्याएका हौ, त्यसको लागि झण्डै ६ महिना लाग्यो ।
उनले राजदुताबासका कर्मचारी नारायण पासवानले पनि उल्लेख्य सहयोग गरेको बताए । साउदीबाट कम्पनीले काठमाण्डौसम्म ल्याउन मदत गरेको पाठकले बताए ।
चापागाईँको अवस्था अहिले पनि जटिल छ । उनको थप उपचारका लागि परिवारसँग रकम नै भएको श्रीमती शान्तिले बताइन् ।
उपचारका क्रममा घाँटीमा पारिएको प्वालका कारण अहिले खानेकुरा खाँदा त्यो प्वालबाट बाहिर निस्किने गरेको छ ।
उपचार खर्चको जोहो भए उनको फेरी एक पटक अपरेसन गरेर त्यो प्वाल टाल्न सकिने चिकित्सकले बताएको जानकारी उनले दिएकी छन् ।














