काठमाडौं, कार्तिक १४ । कार्तिक कृष्ण त्रयोदशीका दिन आज काग तिहार । यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर आज काग तिहार मनाइँदैछ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

 जनहितमा जारी

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ ।

यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै शुरू गरिँदैछ ।