काठमाडौँ — अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् ।
ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग 'राम्रो संवाद' भएको बताएका छन् । त्यस्तै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेको बताएका छन् । तर ट्रम्पले कुराकानीबारे विस्तृत भने केही नभनेको एनबीसीले जनाएको छ । पुटिनसँग अहिले संवाद नभएको उल्लेख गर्दै उनले भनेका छन्, 'मलाई लाग्छ, हामी कुराकानी गर्नेछौँ ।'
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई दिएका हुन् । रुसी समाचार संस्था तासका अनुसार बिहीबार भल्दाई इन्टरनेसनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका हुन् ।














