झापा ।    अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले सर्वोच्च अदालतको फैसलापछि पठनपाठनको तयारी पूरा गरेको हो ।

सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो ।

सोही परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो ।

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो ।

हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताए ।

पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको उनले बताए ।