झापा । स्रोत नखुलेको ठूलो मात्रामा अमेरिकन डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् । ती व्यक्तिलाई बिहीबार दिउँसो बसमा चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
दमकबाट बिर्तामोडतर्फ आउँदैं गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको बसलाई चेकजाँच गर्दा गौरादह ५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया अमेरिकन डलरसहित पक्राउ परेका हुन् ।
मियाले बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान २९ हजार ७ सय बरामद भएको थियो । बिहीबारको नेपाली दररेट १ डलरको १३५.८२ अनुसार ४० लाख ३३ हजार ८५४ रुपैयाँ फेला परेको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ३ केर्खा चोकमा सवारी साधन चेकजाँच गर्नेक्रममा मिया सवार बसलाई पनि चेकजाँच गरेको थियो ।