भद्रपुर, २९ मंसिर । लागूपदार्थविरुद्धको देशव्यापी अभियानलाई थप प्रभावकारी बनाउनका लागि चेतना नेपालले भद्रपुरमा अभियानता इन्द्रप्रसाद ओलीद्वारा लिखित “दिव्य दृष्टि” नामक पुस्तकको लोकार्पण सम्पन्न गरेको छ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा सभापतित्व दाताराम सिटौलाले गर्नुभएको थियो।
प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, र विशिष्ट अतिथिका रूपमा पूर्व सांसद पुष्पराज पोखरेलको उपस्थिति थियो।
कार्यक्रमको उद्घाटन राज्यमन्त्री राजवंशीले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उहाँले “दिव्य दृष्टि” कृतिले लागू पदार्थविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै राज्यबाट थप सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

पुस्तकको सामाजिक पक्षबारे विशेष श्रव्यदृश्य प्रस्तुत गर्दै समीक्षा गरिएको थियो। समाजसेवामा योगदानको कदरस्वरूप चेतना नेपालले विशिष्ट व्यक्तिहरूलाई अभिनन्दन पनि गरेको थियो। उक्त कार्यक्रममा झापाका नगर प्रमुख गणेश पोखरेल, सहायक जिल्ला अधिकारी विश्वराज नेपाली, शुरक्षा निकायका प्रमुखहरू, समाजसेवी, प्राध्यापक, उद्योगी(व्यवसायी, सञ्चारकर्मी, र स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभापति सिटौलाले “दिव्य दृष्टि” केवल पुस्तक नभई समाज सुधारको अभियानलाई बलियो बनाउने साधन भएको बताउनुभयो।
चेतना नेपालले लागूपदार्थका दुष्प्रभावबारे जनचेतना फैलाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गर्यो। कार्यक्रममा स्वागत मन्तव्य चेतना नेपालकी सहजकर्ता कल्पना भट्टराईले स्वागत गीत प्रस्तुत गर्दै गर्नुभएको थियो।














