भद्रपुर । भरत प्रसाई, मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब र आयोजक टिम भद्रपुर ब्लेजर्सले झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको भोली हुने फाइनलमा आफ्नो जित सुनिश्चत रहेको दाबी गरेका छन् । उपाधिका लागि शुक्रबार फाइनल खेल हुँदै छ ।
भद्रपुरस्थित मेची रङ्गशालामा अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक भएको हो ।
आज भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा क्याप्टेनले ट्रफी उचाल्ने दावी गरेका हुन् ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सबाट उपलब्ध एक थान टिभिएस मोटरसाइकल तथा अर्का एकजना दर्शकलाई सुनचाँदी व्यवसायी संघ भद्रपुरको तर्फबाट प्राप्त एक थान सुनको सिक्री उपहार प्रदान गरिनेछ ।
यस संस्करणको विजेता र उपविजेता टिम झापा भित्रकै भुगोलबाट रहेकाले फाइनल खेल अझ रोमाञ्चक हुने खेलप्रमीहरुको बुझाइ छ ।














