कनकाई, चन्द्र बस्नेत । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा गौरादह नगरपालिका लाई हराउँदै र शिवसताक्षी नगरपालिका विजयी भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आज मंगलबार भएको खेलमा गौरादह नगरपालिका लाई ८-० फराकिलो गोल अन्तरले गौरादहलाई हराउँदै शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिम विजयी भएको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिनुभयो ।
खेल अबदिभर शिवसताक्षीका खेलाडीले दबाबमा राखेका थिए । खेलको पहिलो हापमा २ गोल लगाएको शिवसताक्षी नगरपालिकाले दोस्रो हापमा थप ६ गोल गरेसगै गौरादह माथी शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिमले ८-० को जित दर्ता गरेको हो।

भोलि २८ गते बुधबारबाट पहिलो सेमिफाइनलका खेल सुरु हुने र पहिलो सेमिफाइनलमा काकरभिट्टाको महिला फुटबल टिम र बारर्दशीको महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुने खेल संयोजक गीता खरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा खेलको माध्यमबाट खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक अध्यक्ष छवि थपलियाले बताउनुभएको थियो ।
जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल आगामी चैत २ गते हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ।














