बिर्तामोड उद्योग वाणिज्य सङ्घले आफ्नो सातौँ साधारण सभा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
सम्भाव्यताको खोजी गरी व्यवसायलाई चलायमान बनाउन वि.सं २०७३ साल पौष २४ गते बिर्तामोड शाखाको रुपमा बिर्तामोड उद्योग वाणिज्य सङ्घको गठन भएको थियो।
बिर्तामोड उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपानेले संगठनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
उहाँले व्यवसायलाई चलायमान बनाउन स्थानीय सरकार प्रहरी प्रशासन र व्यापारी बीच त्रिपक्षीय सम्बन्ध रहनुपर्ने बताउनुभयो।
उहाँले बिर्तामोड उद्योग वाणिज्य संघमा ६ हजारभन्दा बढी व्यापारी सम्मिलित रहेको बताउँदै राज्यलाई इमान्दारितापूर्वक कर तिर्ने व्यापारीहरूलाई राज्यले पनि विशेष छुट दिनुपर्ने बताउनुभयो ।
उहाँले व्यापारी बाँचे मात्रै मुलुकको अर्थतन्त्र मजबुत हुने बताउनुभयो । कार्यक्रमका बीच उत्कृष्ट व्यवसायीका रूपमा गणेश मादेनलाई नगद ११ हजार प्रमाणपत्रले सम्मान गरिएको थियो ।
उत्कृष्ट व्यवसायी मादेन तथा एपोलो पेन्ट्सका प्रतिनिधीलाई प्रमुख अतिथि उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक कुलचन नेपाल, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।
त्यस्तै बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कुमार भट्टराईले झापा दुर्वेशनीको हब बन्दै गइरहेकाले यसतर्फ प्रहरी प्रशासनले निगरानी बढाउनुपर्ने सुझाव दिनुभएको थियो।
त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रमुख गोपालकुमार अधिकारीले व्यापारी र सरकार एकआपसका परिपूरक रहेको बताउनुभयो।
उहाँले एकअर्काको कमीकमजोरी औल्याउनुको साटो दिगो समाधानको बाटो खोज्दै कानुनले निर्दिष्ट गरेको बाटोमा सम्पूर्ण व्यवसायीहरू हिँड्नुपर्ने बताउनुभयो ।
उहाँले जानीजानी व्यापारीलाई प्रशासनले दुःख दिने काम नगरेको बताउँदै त्यस्ता घटना कहिँ कतै भएको प्रमाण सहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखे कानुन बमोजिमको कारबाही गरिने बताउनुभयो ।
उहाँले करकोदर वृद्धि भयो भन्नुभन्दा संगठन र संस्थाले बजेट बन्नुभन्दा पहिला नै स्थानीय सरकार संघ र प्रदेशसँग संवाद गरी न्यूनीकरण को बाटो खोज्नु पनेृ बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घकोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अर्थतन्त्र धराशय भएको बेला व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले विशेष कार्यक्रम र योजनाहरू ल्याउनुपर्ने बताउनुभयो।
उहाँले व्यवसायीहरू पनि कानुनको दायरामा रहेर समयमै कर चुक्ता गर्दै राज्यको सेवा सुविधा उपभोग गर्न आग्रह गर्नुभयो।
यसो गरेको खण्डमा समस्याहरु कम हुँदै जाने उहाँको सुझाव रहेको छ ।
कार्यक्रममा प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसी, झापा खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रिय सदस्य शिव घिमिरे,नवीन रिजाल, बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रशासकीय अधिकृत सागर मिश्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि झापाका अग्रज व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।

बिर्तामोड उद्योग वाणिज्य महासङ्घले आउँदा दिनमा आफ्नो नीति र कार्यक्रममा फरक योजनाहरु समावेश गरको बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपाने बताउनु भयो ।
बिर्तामोड नगरभित्र रहेका उद्योगी व्यवसायहरुलाई सूचनाको अधिकतम प्रयोग गरी बिर्तामोड उद्योग वाणिज्य संघका लागि सफ्टवेयर प्रयोग गरी डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्न संघमा आबद्ध हुन नसकेका व्यवसायहरुलाई संघको महत्व र आवश्यकताका विषयमा जानकारी गराउँदै बिर्तामोड उद्योग वाणिज्य संघमा आबद्ध गराउने,

व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्याका लागि आन्तरिक राजस्व कार्यालय घरेलु तथा साना उद्योग कार्यालय तथा स्थानीय सरकारको समन्वयमा व्यावसायिक एवं अभिमुखीकरण तालिम गोष्ठी सञ्चालन तथा नापतोल उपकरण दर्ता एवं नवीकरणलाई निरन्तरता दिइने,लगायतका अध्यक्ष न्यौपानेले २३ वटा भावी योजनाहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघले गरेका गतिविधि र कार्यक्रमका सम्बन्धमा तयार पारिएको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो।
कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग संघका महासचिव कुशल खतिवडाले गर्नुभएको थियो ।














